१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
ओरी गोल्डबर्ग
२o८२ असार १२ बिहीबार o८:२३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इरान–इजरायल युद्ध : जित कसको ?

Read Time : > 2 मिनेट
ओरी गोल्डबर्ग
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार o८:२३:oo

मध्यपूर्वको रणनीतिक सन्दर्भमा विश्वले इरानलाई व्यापारिक वैध साझेदारका रूपमा स्वीकार गरेको देखिनु इरानका लागि स्पष्ट विजय हो

आखिर ११ दिनको लगातार बमबारीपछि इजरायलले इरानमा के हासिल गर्‍यो ? प्रधानमन्त्री नेतन्याहुले युद्धविरामको घोषणा गर्दै लक्ष्य प्राप्त भएको दाबी गरे पनि यो विवादास्पद देखिन्छ । युद्धको सुरुमा उनले ‘आणविक कार्यक्रमको शिरच्छेद’ र ‘सत्ता परिवर्तन’ मुख्य उद्देश्यका रूपमा घोषणा गरेका थिए । तर, आणविक कार्यक्रमको शिरच्छेद गर्ने योजना असफल भयो । अमेरिकाले आक्रमण गर्नुअघि नै इरानले फोर्दो केन्द्रबाट मुख्य आणविक सामग्री सारिसकेको थियो । इजरायलले अमेरिकाबाट भूमिगत बम (मोप्स) प्रयोग गराएर केही आक्रमण गरायो, तर अमेरिकाको सहभागिता सीमित रह्यो, क्षतिको मूल्यांकन अझै अस्पष्ट छ ।

‘सत्ता परिवर्तन’को प्रयास पनि प्रत्युत्पादक बन्यो । इजरायलले इरानी सुरक्षा नेता र आणविक वैज्ञानिकको हत्या गरेर जनविद्रोह भड्काउने कोसिस गरे पनि यसले जनतालाई उल्टै सरकारको पक्षमा गोलबन्द गरायो । इरानी जनतामाझ अलोकप्रिय मानिने ‘इरानियन रेभुलसनरी गार्ड कर्प्स’ (आइआरजिसी) का कमान्डरको हत्यापछि राष्ट्रवादी भावना जागृत भई इस्लामिक गणतन्त्रको पक्षमा जनसमर्थन देखियो । इरानी जनताले यो आक्रमणलाई केवल सत्ताविरुद्ध नभई सम्पूर्ण देशमाथि गरिएको हमला ठाने । वास्तवमा ‘सत्ताका प्रतीक’माथिका इजरायली बमबारीले अवस्था झन् बिगार्‍यो । इजरायलले प्रसिद्ध एविन कारागारमा गरिएका हवाई आक्रमणलाई इस्लामिक गणतन्त्रद्वारा दमनमा परेका इरानी जनताको संघर्षप्रति सहयोगका रूपमा देखाउने प्रयास गरेको थियो । यो कारागार राजनीतिक बन्दीमाथि गरिने यातनाका लागि बदनाम छ । तर, इजरायली बमबारीले वास्तवमा बन्दीहरूको अवस्था झन् गम्भीर बनायो, किनभने अधिकारीले धेरै बन्दीलाई अज्ञात स्थानतर्फ सारिदिएका थिए ।

त्यसैगरी इजरायलले इरानको ‘डुम्सडे क्लक’ (विनाशको घडी) माथिको आक्रमणलाई पनि आफ्नो विजयका रूपमा चित्रित गर्न खोज्यो । इजरायलले यो घडीलाई इरानको इजरायलविरुद्धको विनाशकारी मनसायको प्रतीकका रूपमा प्रयोग गर्दै आएको छ । तर, यसप्रकारको आक्रमणलाई धेरैले हास्यास्पद मात्र नभई वाहियात प्रदर्शन मानेका छन् । यसबाहेक इजरायलले इरानी राष्ट्रिय प्रसारक इरिबमाथिको बमबारी पनि अत्यन्त अविवेकी देखियो । इजरायलले यो कदमलाई सत्ताको प्रोपगान्डामा सख्त हमलाका रूपमा प्रस्तुत गर्‍यो । तर, धेरै इजरायलीले औँल्याएझैँ यो आक्रमणले उल्टै इरानलाई इजरायली टेलिभिजन च्यानललाई पनि धम्की दिनका लागि ‘वैध कारण’ प्रदान गरिदियो ।

इजरायलले आफ्ना घोषित युद्ध उद्देश्य हासिल गर्न नसके पनि के उसले कम्तीमा पनि विश्व समुदायलाई आफ्ना पक्षमा उभ्याउन, गाजाबारेको ध्यान मोड्न र आफूलाई पुन: ‘सत्यको पक्षमा लडिरहेको’ देशका रूपमा प्रस्तुत गर्न सक्यो त ? यो दाबी शंकास्पद देखिन्छ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले इरानी आणविक पूर्वाधारमा आक्रमण गरेको सत्य हो । तर, त्यसो गर्नु अन्तर्राष्ट्रिय कानुनका धेरै महत्ववपूर्ण प्रावधानको उल्लंघन थियो, जसको दीर्घकालीन असर देखिने सम्भावना छ । यद्यपि, ट्रम्पले इजरायलको साथमा प्रत्यक्ष युद्धमा भाग लिएनन् । आक्रमणपछि अमेरिकी रणनीतिक बमवर्षक तुरुन्तै स्वदेश फर्किए । हवाई आक्रमण गर्नुअघि र पछि ट्रम्पले बारम्बार अमेरिकासँग इरानबिच (र सम्भवत: इजरायल पनि समावेश हुने) सम्झौता चाहिएको कुरा दोहोर्‍याए । ट्रम्पले इजरायललाई सहयोग आफ्नो स्वार्थ र खाडी क्षेत्रका आफ्ना सहयोगीका हितमा गरेको देखिन्छ ।

केही विश्व नेता विशेषत: जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी आक्रमण र ‘इजरायलको आत्मरक्षाको अधिकार’का लागि तुरुन्तै समर्थन गरे पनि इरानले युरेनियम समृद्ध गर्नै नपाउने भन्ने इजरायलले राखेका कठोर मागलाई कसैले पनि स्विकारेनन् । विश्व समुदाय पुन: ‘आणविक हतियार हुँदैन’ भन्ने आधारभूत सूत्रमा फर्किएको देखिन्छ र यो सूत्रमा इरान पहिल्यै सहमत भइसकेको थियो । मध्यपूर्वको रणनीतिक विकासका सन्दर्भमा हेर्दा विश्वले इरानलाई व्यापार गर्न सकिने वैध साझेदारका रूपमा लिएको देखिन्छ । र, यो इजरायलका लागि हार र इरानका लागि विजय हो ।

इजरायली मुख्य भूमिमा पुगेको वास्तविक क्षतिलाई पनि नजरअन्दाज गर्न सकिन्न । इजरायलले इरानमाथि निकै छिटो हवाई वर्चस्व कायम गर्‍यो र लगभग इच्छाअनुसार आक्रमण गर्‍यो । तर, त्यसका बाबजुद इरानी मिसाइल बारम्बार प्रख्यात इजरायली वायु रक्षा प्रणाली छिचोलेर देशको मुटु तथा सम्पूर्ण क्षेत्रभर प्रहार गर्न सफल भए । तिनले इजरायललाई लगभग ठप्प बनाइदिए र अभूतपूर्व क्षति एवं ठुलो संख्यामा हताहती निम्त्यायो । इजरायलसँग रहेका अवरोधक (इन्टरसेप्टर) मिसाइल समाप्त हुने अवस्था सिर्जना भयो र छिट्टै पुनरापूर्तिको सम्भावना पनि थिएन । इजरायली अर्थतन्त्र पूर्ण रूपमा ठप्प हुँदै गइरहेको थियो । यो अवस्था पनि इरानका लागि अर्को विजय साबित भयो ।

इरान युद्धबाट अस्तव्यस्त र बमबारीले क्षतिग्रस्त भएको अवस्थाबाट बाहिर निस्कियो, अर्थात् ठुलो जनधनको क्षति व्यहोर्नुपर्‍यो, देशभर निरन्तर आक्रमणले वास्तविक क्षति पनि भयो, तर यसले इस्लामिक गणतन्त्र ढलेन । इरानी मिसाइलले आफ्ना लक्ष्य भेट्ने काम गरे । इरानको छवि विश्वसामु कलंकित भएन, बरु विश्वको ठुलो तप्काले इरानलाई इजरायली आक्रमणको सिकारका रूपमा हेर्‍यो । इरानको प्रतिक्रिया क्षमतामा कुनै ठुलो अवरोध देखिएन । आफ्नो सैन्य आधारमाथि अमेरिकाले आक्रमण गरेपछि इरानले त्यसको बदला लिने घोषणा पहिल्यै गरेर आफ्नो कदमलाई ‘सावधानीपूर्वक नियन्त्रणमा राखिएको’ देखायो र तनाव कम गर्न सफल पनि भयो । इरान यति शक्तिशाली देखियो कि उसले ट्रम्पलाई युद्धविराम उल्लंघन भएपछि इजरायललाई आक्रमण नगर्न चेतावनी दिनसमेत बाध्य बनायो । समग्रमा इरान आफूलाई भविष्यका थप सम्भावनासहित दृढ रूपमा उभिएको देखाउन सफल भयो ।

(गोल्डबर्ग मध्यपूर्व विशेषत: इरान मामिलाका स्वतन्त्र विश्लेषक एवं टिप्पणीकार हुन्) 
अलजजिराबाट