१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o९:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वैदेशिक रोजगारका लागि दुबई पुर्‍याइएका नौ युवा  १८ दिनदेखि अलपत्र

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:४६:oo

प्रतिमहिना ३५ हजार ५७७ रुपैयाँ आम्दानी हुने भन्दै २३ जेठमा भारतको मुम्बईबाट दुबई उडाइएका नौ नेपाली युवा भनेअनुसार काम नपाएपछि १८ दिनदेखि अलपत्र परेका छन् । उनीहरूलाई कम्पनीभित्रै लोड–अनलोडको काम गर्नुपर्ने भन्दै सिनामंगलस्थित इसान इन्टरनेसनल मेनपावर कम्पनीले वर्किङ भिसामा पठाएको थियो । तर, दुबई पुगेपछि घरबाहिर गर्नुपर्ने ‘बिल्डिङ लेबर’को काम लगाएपछि उनीहरूले इन्कार गरेकोमा कम्पनीले कामबाटै निकालिदिएको हो । 

सम्पर्कमा आएका चितवन महानगरपालिका– १६, लालचोकका २५ वर्षीय विवेक छिनालकी श्रीमती मञ्जुकुमारी श्रेष्ठका अनुसार अहिले उनीहरू दुबई मुसाफास्थित प्रोफाइल कम्पनीमा अलपत्र अवस्थामा छन् । उनीहरूसँग अहिले बिहान–बेलुकाको छाक टार्ने रकमसमेत नभएको उनले बताइन् । ‘इनडोरमा गर्नुपर्ने लोड अनलोडको काममा लगाउने भनिएको थियो । सोहीअनुसार तयार भएर गएपछि दुबई पुगेपछि बिल्डिङ लेबरको काम लगाएको छ । भनेअनुसारको काम नपाएपछि उहाँहरूले अर्को काम गर्न इन्कार गर्नुभयो । अहिले बिहान बेलुकाको छाक टार्नसमेत आर्थिक समस्या परेको बताउनुभएको छ,’ उनले भनिन् । 

श्रेष्ठका अनुसार रकम असुली नगर्दासम्म कम्पनीका एजेन्ट हिमाल कुमालले दुबईको मुसाफास्थित प्रतिष्ठित कम्पनीमा लोड–अनलोडको काम भनेका थिए । सबै काम ‘इनडोर’को हुने भनेपछि सबै युवाहरू हौसिएका थिए । घरबाट ऋण गरेर रकम पनि बुझाए । जब हातमा कामदार सम्झौतापत्र थमाइयो, त्यहाँ त पद ‘लोड–अनलोड’ नभई ‘बिल्डिङ लेबर’ उल्लेख थियो । तर, म्यानपावर कम्पनीले सम्झौतामा यस्तो भए पनि काम लोड–अनलोडकै हुने भन्दै विश्वास दिलाएर उडाएको श्रेष्ठले बताइन् । ‘पैसा नदिँदासम्म मेनपावर कम्पनीले अनेक प्रलोभन बाँड्यो । काम सजिलो रहेको आश्वासन दिए । जब पैसा दियौँ, उनीहरूको नियत खुल्दै गयो । पछि उनीहरूको आदेश मान्नुको विकल्प नै भएन । किनकि सबैलाई उनीहरूले मुम्बई पुर्‍याइसकेका थिए,’ उनले भनिन् ।

श्रेष्ठका अनुसार सबै युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दुबई जान तयार थिए । तर, मेनपावर कम्पनीले नेपालको विमानस्थलमा लफडा हुने र भाडा पनि महँगो हुने भन्दै सबैलाई मुम्बई पुर्‍याएका थिए । कम्पनीले उनीहरूलाई श्रम सम्झौताको पत्र पनि मुम्बईमा नै दिएको थियो । सम्झौतापत्रमा  तलब प्रतिमहिना २९ हजार ९६० र काम पनि ‘बिल्डिङ लेबर’ को उल्लेख भएको देखिएपछि उनीहरूले हस्ताक्षर गर्न मानेका थिएनन् । पछि उनीहरू दबाबमा उत्रिएका थिए । त्यसपछि पनि युवाहरूले हस्ताक्षर नगरेपछि मेनपावर कम्पनीकै एजेन्टले सम्झौतापत्रमा किर्ते हस्ताक्षर गरेका थिए । ‘मुम्बई लगेपछि बल्ल सम्झौतापत्रमा हस्ताक्षर गराए । तलबको दर र काम भनेअनुसारको नभएपछि उहाँहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएन । पछि मेनपावरकै मान्छेले नै किर्ते हस्ताक्षर गरेर सबैलाई जबर्जस्ती दुबई पुर्‍याएछन् । अहिले उहाँहरू अलपत्र बन्नुभएको छ,’ उनले भनिन् ।

श्रेष्ठका अनुसार मेनपावरलाई उनका श्रीमान् छिनालले एक लाख ७० हजार, होमबहादुर रानाले दुई लाख २५ हजार, खेमबहादुर घर्तीमगरले दुई लाख चार हजार, राजकुमार विकले एक लाख ९० हजार, दीपेन्द्र थिङले एक लाख ६० हजार, मीनबहादुर रानामगरले दुई लाख ५० हजार, जितबहादुर सुनारीमगरले दुई लाख ४० हजार ५००, प्रेमबहादुर रानामगरले दुई लाख ४० हजार र प्रेमबहादुर रानामगरले दुई लाख २५ हजार रुपैयाँ बुझाएका थिए । 

इसान इन्टरनेसनलका एमडी दीप लामाले उनीहरू यहाँबाट लेबर काम नै भनेर गएको र त्यहाँ पनि सोही काम गर्न भनिएको बताए । उनले भने, ‘हामीले उहाँहरूलाई यहाँ लेबर काम नै भनेका हौँ । बिचमा एजेन्टले के भने त्यो हामीले जान्ने विषय भएन । त्यहाँ पनि लेबर काम नै गर्न भनिएको हो । उहाँहरूले गर्न  मान्नुभएको छैन । हामी मिलाउने कोसिसमा छौँ ।’