१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ८ आइतबार १८:३६:oo
Read Time : < 1 मिनेट
समाचार

पाँच जिल्लाका नागरिक मात्रै जनता होइनन्, बजेट समन्यायिक हुनुपर्छ : शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १८:३६:oo

संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनीलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो। आफ्नो पार्टीका प्रमुख सचेतकबाट अन्तिम दिन बोल्ने अवसर उपलब्ध गराइएकोमा उनले आभार व्यक्त गरे। उनले विशेष गरी सांसद चन्द्र भण्डारीको समर्थन र सहकार्यप्रति समेत धन्यवाद व्यक्त गरे।

डा. शर्माले सम्बोधनको क्रममा बुद्ध जन्मेको राष्ट्रमा बुद्धको दर्शन केवल पूजा र भाषणमा सीमित भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, ‘सिद्धार्थ गौतम राजदरबार त्यागेर जनताको दुःख बुझ्न वनतिर लाग्नुभयो। आजका अर्थमन्त्रीज्यू पनि गाउँबाट आउनुभएको हो। तर, जब सिंहदरबारमा पुगिन्छ, विवेक हराउँछ कि जस्तो लाग्छ।’

‘पाँचवटा जिल्लाका नागरिक मात्रै जनता होइनन्,’ भन्ने शीर्षकगत भनाइमार्फत उनले बजेटको असमान वितरणप्रति गम्भीर असन्तुष्टि जनाए। उनले भने, ‘आज छातीमा हात राखेर सोच्नुस्—के देशका पाँचवटा जिल्लाका नागरिक मात्र जनता हुन् ? मुगु, मधेश, पहाडका दुर्गम गाउँहरूमा न पुल छ न सिँचाइ, न शिक्षा न स्वास्थ्य। त्यहाँका नागरिकको पीडा पनि उतिकै वास्तविक हो।’

सांसद शर्माले सरकारको संवेदन शून्यताको आलोचना गर्दै प्रश्न गरे, ‘माननीय मन्त्रीज्यूहरू, तपाईंहरूको हृदय छ कि छैन ? विवेक बाँकी छ कि छैन ?’ वर्तमान सत्तालाई आत्ममूल्यांकन गर्न आग्रह गरे।

उनले स्पष्ट रूपमा जोड दिए बजेट समन्यायिक हुनुपर्छ। केही सीमित क्षेत्रलाई प्राथमिकतामा राखेर बनाइएको बजेटले देशका सबै नागरिकको विश्वास जित्न नसक्नेतर्फ उनले सदनको ध्यानाकर्षण गराए।

 डा. शर्माले भने, ‘पाँच जिल्लाका मतदाताको भरमा सत्ता टिक्दैन। समावेशी विकास र समान पहुँच सुनिश्चित नभएसम्म बजेटको औचित्य जनताले महसुस गर्न सक्दैनन्। अब विवेक बोल्नुपर्छ, बजेट जनताको हुनुपर्छ।'

छुटाउनुभयो की ?