
म्युजिक भिडियो र चलचित्रमा सुर्तीजन्य पदार्थ प्रयोग र सेवनलाई असंवेदनशील ढंगले प्रस्तुत गरिएको पाइएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले नेपालमा म्युजिक भिडियो र चलचित्र निर्माण गर्दा सुर्तीजन्य पदार्थलाई लापरबाही ढंगले प्रस्तुत गरिएको बताए । स्वास्थ्य मन्त्रालय, कर कोषको सचिवालय, चलचित्र विकास बोर्डको समन्वयमा गरिएको ‘दृश्यमा सुर्तीजन्य पदार्थको प्रयोग : कथाले माग्छ ?’ कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन गरेका म्युजिक भिडियो र चलचित्रबारे पनि समीक्षा गरिएको थियो ।
स्वास्थ्य मन्त्रालय कर कोषको सचिवालयका प्रमुख गोपीकृष्ण रेग्मीले म्युजिक भिडियो र चलचित्रमा चुरोट तानेको र मदिरा सेवन गरेको दृश्य प्रस्तुत गर्दा त्यसले समाजलाई गलत सन्देश दिएको बताए । उनका अनुसार कतिपयले सुर्तीजन्य पदार्थ सेवन गरेको तस्बिर तथा दृश्य प्रयोग गर्दा ‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सन्देशसमेत नराखेको बताए । ‘सुर्तीजन्य पदार्थलाई श्रव्यदृश्यमा निकै गलत रूपमा प्रयोग गरिएको छ, देखाउनै नहुने गरी देखाइएको छ, कलाकारहरू देशका गहना हुन्, उनीहरूको कुरा आमयुवा वर्गले कपी गरिरहेका हुन्छन्, तर गलत कुरा कलाकारले सिकाउन त भएन नि,’ उनले भने, ‘स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्ने वस्तुबारे कलाकारले ध्यान दिन जरुरी छ ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा त्यस्ता दृश्यको प्रयोग भएको स्वीकार गर्दै यसबारे सम्बन्धित कलाकारलाई सचेत गराइने बताए । ‘हामीकहाँ त उल्टै सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको लोगो राख्ने र विज्ञापन गर्ने चलन पनि छ,’ उनले भने ‘त्यसो गर्नु कानुनविपरीत हो, त्यसलाई रोक्नुपर्छ, सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ, बरु यसको सेवन छुटाउने गरी सामग्री प्रस्तुत गर्नुपर्छ, बोर्डले चलचित्रमा त्यस्ता दृश्य राख्न निरुत्साहित गर्छ र गर्दै आइरहेको पनि छ ।’
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले म्युजिक भिडियो र चलचित्र हेरेर पनि युवाहरू सुर्तीजन्य पदार्थको लतमा लागेको बताउँदै यसबारे अध्ययनसमेत भएको बताए । ‘भिडियो हेरेर पनि युवाहरूले यसको सेवन गरेका छन्, अझ प्रयोग बढ्दो छ,’ उनले भने, ‘कुनै–कुनै म्युजिक भिडियो स्पोन्सरसमेत भएको पाइन्छ, यसबारेमा सचेत हुनुपर्छ, युवाहरूमा सुर्तीजन्य पदार्थको लत बढ्नु भनेको खतरनाक हो ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मात्र सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसहरूको अल्पायुमै मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण देशको अर्थतन्त्रमा समेत आर्थिक भार थपिँदो छ । सन् २०१७ मा नेपालमा सुर्तीजन्य पदार्थ सेवनको आर्थिक भार ४७ अर्बभन्दा बढी थियो र यो झन्झन् बढ्दै गइरहेको छ । मन्त्रालयका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण हुने ८० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकमा हुन्छ । त्यसमा नेपाल पनि पर्दछ ।
नेपालमा ५५ लाख मानिसले सेवन गर्छन् धूम्रपान
स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले जनसंख्याको ३० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको बताउँदै युवावर्गमा जनचेतना नहुँदा यसको प्रयोग झन्झन् बढिरहेको बताए । ‘कलाकारले समाजलाई ऐना देखाउँछन्, समाज सुधारमा मुख्य भूमिका खेल्छन्, कलाकारहरूको कुरा आममानिसले छिटो सिक्छन्, तर कलाकारले सुर्तीजन्य पदार्थ र मदिरा सेवन गरेको तस्बिर र दृश्य तयार पार्नु आफैँमा नराम्रो हो । सुर्तीजन्य पदार्थले घातक क्यान्सर निम्त्याइरहेको तथ्य हो,’ उनले भने, ‘कलाकारिता गर्दा चुरोट र रक्सीको सहारा लिनु राम्रो होइन, यो साइलेन्ट किलर हो, हामीले ऐन र यसका कार्यविधिलाई प्रभावकारी रूपमा लागू गर्न खोजिरहेका छौँ ।’ मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थको तथ्यांक प्रस्तुत गर्दै नेपालमा ५५ लाख मानिसले सुर्तीजन्य पदार्थ सेवन गरेको बताए । उनका अनुसार अझ चलचित्र तथा म्युजिक भिडियोमा सुर्तीजन्य पदार्थलाई गलत ढंगले प्रयोग गर्दा सेवनकर्ता बढेका छन् । उनले यसलाई रोक्न जरिवानालाई कडा गर्नुपर्ने बताए ।