१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
२o८२ असार २ सोमबार o६:o३:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अर्काको भलो गर्ने चाहना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २ सोमबार o६:o३:oo

एकपटक एउटा दरबारमा एउटा अभियुक्तविरुद्ध सुनुवाइ भइरहेको थियो । राजाले ध्यानपूर्वक अभियुक्तको बयान सुने । उनीविरुद्ध लगाइएको अभियोगबारे पनि राजाले जानकारी लिए । सबैको तर्क सुनिसकेपछि राजाले ती अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाए । फैसला सुनाउँदा अभियुक्त दरबारको एक कुनामा थिए । राजाले गरेको फैसलाबारे थाहा पाउनासाथ अभियुक्त राजालाई गाली गर्न थाले । राजाले उनलाई देख्न त देख्थे, तर उनले बोलेको केही सुन्दैनथे । त्यसैले, उनले नजिकै रहेका मन्त्रीलाई ती अभियुक्तले के भन्दै छन् भनेर बुझ्न पठाए ।

एकैछिनमा मन्त्री फर्केर आए । राजाले कारण जान्न चाहे । तर, मन्त्रीले सत्य कुरा नभनी राजालाई भने– महाराज त्यो अभियुक्त हजुरको प्रशंसा गर्दै थियो । उसले हजुर निकै ज्ञानी, दयालु र विवेकशील राजा भएको बताइरहेको थियो । मन्त्रीको यस्तो कुरा सुनेपछि राजालाई ती अभियुक्तमाथि दया जाग्यो । उनले तत्काल आफूले पहिले सुनाएको फैसला उल्ट्याउँदै ती अभियुक्तलाई माफी दिए । 

दरबारमा मन्त्रीका विरोधी एक भारदार थिए । उनी जहिल्यै मन्त्रीका कमीकमजोरी खोजिरहन्थे र राजालाई सुनाउने उपयुक्त मौकाको प्रतीक्षामा बस्थे । ती अभियुक्तले राजालाई गाली गरेको कुरा ती भारदारले पनि सुनेका थिए । साथै, मन्त्रीले झुटो कुरा सुनाएर राजाबाट अभियुक्तको सजाय माफ गराएको पनि देखेका थिए । त्यसैले, उनले मौका मिलाएर राजालाई यसबारे चुक्ली लगाइदिए । उनले भने– महाराज, हाम्रा मन्त्रीजीले झुटो बोल्नुभयो । यथार्थमा त्यो अभियुक्तले हजुरको प्रशंसा होइन, गाली पो गर्दै थियो । भारदारको गुनासो सुन्दा राजालाई उनीदेखि नै झनक्क रिस उठ्यो ।

उनले भने– मन्त्रीले झुटो बोले पनि उनले अर्कालाई बचाउन त्यसरी झुटो बोले । तर, तिमी भने अर्कालाई खराब देखाउन यसरी कुरा लगाइरहेका छौ । यथार्थमा अर्कालाई बचाउने, अर्काको भलो चाहने मान्छे गलत हुन सक्दैन । यसरी अर्काको कुरा लगाउने मान्छे भने पक्कै पनि गलत नै हुन्छ । त्यसैले, तिमी मेरो दरबारमा बस्नलायक छैनौ । यति भनेर राजाले ती भारदारलाई दरबारको सेवाबाट निष्कासन गरिदिए ।