
अब बैंक तथा वित्तीय संस्थाले सबै खाले सेयर धितो कर्जामा १०० प्रतिशत मात्रै जोखिम भार राखे हुने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार परिपत्र गर्दै सबै सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार राखे हुने व्यवस्था गरेको हो ।
यसअघि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिमभार राख्नुपर्ने व्यवस्था थियो । ११ जेठमा राष्ट्र बैंकले मौद्रिक नीति ०८१/८२ को तेस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो जोखिमभार १०० प्रतिशत कायम गर्ने बताएको थियो ।
‘विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले मौद्रिक नीतिको समीक्षामा उल्लेखित व्यवस्थाअनुसार परिपत्र गरी सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत कायम गरिएको बताए ।
६ जेठको मन्त्रिपरिषद्बाट राष्ट्र बैंक गभर्नर नियुक्ति भएका डा. विश्वनाथ पौडेलले ७ जेठमा पदभार ग्रहण गरेका थिए । उनले पदभार गर्दैगर्दा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्नुपर्ने समय आएको थियो । त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्नुपर्ने व्यवस्थाअनुसार १५ जेठभित्र तेस्रो त्रैमासिक समीक्षा गरिसक्नुपर्ने थियो । त्यहीवला गभर्नर बनेको डा. पौडेलले सेयर धितोकर्जामा राख्नुपर्ने जोखिम भार घटाउने निर्णय गरेका थिए । डा. पौडेल पहिलेदेखि नै सेयर बजारप्रति सकरात्मक मानिन्छन् ।
यो परिपत्रसँगै अब बैंकहरूले यसअघिकै ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा राखेको जोखिम २५ प्रतिशत विन्दुले घटाउन सक्नेछन् । यसैगरी, नयाँ कर्जामा पनि १०० प्रतिशत मात्रै जोखिम भार राखे हुनेछ । यसले बैंकहरूलाई न्यूनतम पुँजीकोष कायम गर्न सहज हुनेछ । फलस्वरूप बैंकहरू सेयर धितो कर्जा प्रवाह गर्न थप प्रोत्साहित हुनेछन् । त्यसले सेयरबजारमा लगानी बढ्ने र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बढ्ने अनुमान गरिएको छ । वर्तमान सरकार र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि सेयरबजार बढाउन चाहन्छन् । यसअघि उनी अर्थमन्त्री भएकै वेला ३२ साउन ०७८ मा नेप्से हालसम्मकै उच्च विन्दु ३१९८.६० मा पुगेको थियो । अहिले आफ्नै पालामा अर्थमन्त्री पौडेल नेप्सेले नयाँ रेकर्ड कायम गरेको हेर्न चाहन्छन् । त्यसमै सहयोग पुग्ने गरी सेयर धितो कर्जामा राख्ने जोखिमभार पनि घटाइएको स्रोतको भनाइ छ ।
यस्तै, बैंकहरूले अनिवार्य रूपमा कायम गर्नुपर्ने मौज्दात (४ प्रतिशत) को ९० प्रतिशत रकम दैनिक रूपमा कायम गर्नुपर्ने भएको छ । यसअघि अनिवार्य नगद मौज्दातको ७० प्रतिशत रकम दैनिक रूपमा राख्नुपर्ने थियो । बैंकहरूले चार प्रतिशतको दरमा अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था छ । अब त्यसको ९० प्रतिशत रकम दैनिक रूपमै कायम हुनुपर्नेछ । ‘यस निर्देशनबमोजिम कायम गर्नुपर्ने अनिवार्य मौज्दातको कम्तीमा ९० प्रतिशत मौज्दात दैनिक रूपमा कायम गर्नुपर्नेछ,’ परिपत्रमा भनिएको छ ।
सेयर धितोमा सवा खर्ब कर्जा प्रवाह
बैंकहरूले हालसम्म सेयर धितोमा एक खर्ब २४ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसमा वाणिज्य बैंकहरूले एक खर्ब एक अर्ब ६० करोड रुपैयाँ, विकास बैंकहरूले १८ अर्ब २८ करोड र वित्त कम्पनीले चार अर्ब २३ करोड रुपैयाँ कर्जा सेयर धितोमा कर्जा दिएका छन् । यो राष्ट्र बैंकले तयार गरेको चैत मसान्तसम्मको तथ्यांकमा आधारित छ ।
नौ महिनामा मात्रै ३४ अर्ब कर्जा प्रवाह
बैंकहरूले चालू आवको नौ महिनामा मात्रै ३४ अर्ब दुई करोड ९० लाख सेयर धितो कर्जा दिएका छन् । गत असार मसान्तसम्म यस्तो कर्जा प्रवाह ९० अर्ब नौ करोड ३० लाख रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म आउँदा त्यस्तो कर्जा प्रवाह एक खर्ब २४ अर्ब १२ करोड २० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ । चालू आवको साउनमा एक अर्ब ३५ करोड, भदौमा आठ अर्ब ३० करोड, असोजमा ६ अर्ब सात करोड, कात्तिकमा एक अर्ब ९४ करोड, मंसिरमा १७ करोड ७० लाख, पुसमा पाँच अर्ब ८३ करोड, माघमा एक अर्ब ३३ करोड, फागुनमा तीन अर्ब ३९ करोड र चैतमा पाँच अर्ब ६२ करोडले यस्तो कर्जा प्रवाह बढेको छ ।