Skip This
एमाले र राजावादी प्रदर्शनको ‘मुभमेन्ट’ हेरेर सुरक्षाकर्मी परिचालन गर्ने प्रशासनको तयारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
टेकराज थामी काठमाडाैं
प्रेम गौतम काठमाडाैं
२o८२ जेठ १५ बिहीबार o७:४६:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले र राजावादी प्रदर्शनको ‘मुभमेन्ट’ हेरेर सुरक्षाकर्मी परिचालन गर्ने प्रशासनको तयारी

रत्नपार्कमा बिहीबार दिउँसो साढे २ बजेसम्म एमाले र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार o७:४६:oo

सत्तारूढ दल एमाले र राजावादी दल तथा समूह बिहीबार आयोजना हुने प्रदर्शन फरक–फरक समयमा गर्न सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा दुई दल आफ्ना प्रदर्शन फरक–फरक समयमा गर्न राजी भएका हुन् । 

एमालेले गणतन्त्रको समर्थनमा र विपक्षी राजावादीले विरोधमा गर्ने प्रदर्शनको मिति र स्थान एउटै भएपछि सुरक्षा चुनौती बढेको थियो । जसका लागि जिल्ला प्रशासन काठमाडौंले पटक–पटक जिल्ला सुरक्षा समितिको बैठक राखेको थियो । दुवै दललाई कार्यक्रमको समयमा लचकता अपनाउन आग्रह गरिएको थियो । तर, दुवै पक्षले आफ्नो अडान छाडेका थिएनन् । सोही सन्दर्भमा समितिको बैठक बुधबार बेलुकासम्म चलेको थियो । बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नो प्रदर्शन २ बजेपछि गर्न सहमत भएका थिए । 

जिप्रकाका प्रवक्ता अशोककुमार भण्डारीले बिहीबार राजावादीको रत्नपार्कमा हुने प्रदर्शन २:३० बजेपछि मात्रै हुने बताए । ‘दुवै दलले एकै ठाउँ, एकै समयमा कार्यक्रम गर्ने भएपछि सुरक्षा चुनौती थपियो । यसलाई हटाउन जिल्ला सुरक्षा समितिको पटक–पटक बैठक बस्यो । यसक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल भयो । उहाँ आफ्नो विरोध प्रदर्शन २ बजेपछि गर्न सहमत हुनुभएको छ । त्यसो हुँदा उहाँहरूको कार्यक्रम २ः३० बजेबाट सुरु हुन्छ होला । त्यसअघि नै एमालेको प्रदर्शन सकिनेछ । सोहीअनुसार सुरक्षा प्रबन्ध गर्न सुरक्षाकर्मीलाई निर्देशन भएको छ,’ उनले भने ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कार्यक्रम पूर्वनिर्धारित भएको हुँदा तोकिएकै समयमा तोकिएकै ठाउँमै आयोजना हुने पूर्ववत् अडान कायम रहेको बताए । ‘हाम्रा साथीहरू विभिन्न जिल्लाबाट आउँछन् । काठमाडौंका विभिन्न ठाउँबाट प्रदर्शन सुरु हुन्छ । रत्नपार्कसम्म पुग्दा १ पनि बज्न सक्छ । हाम्रो विरोध शान्तिपूर्ण हुन्छ । आन्दोलनको कार्यक्रम बिहीबारबाट निरन्तर अघि बढ्छ,’ उनले भने ।

कार्यक्रममा हुन सक्ने सम्भावित झडप रोक्न प्रहरीले दुई पक्षलाई आमनेसामने हुन नदिने रणनीति अपनाएको छ । काठमाडौंबाट निस्कने राजावादीको जुलुस २ बजेअघि नै रत्नपार्क पुग्न सक्ने देखिए प्रहरीले उनीहरूलाई बाटोमै रोक्नेछ । रत्नपार्क पुग्न ढिला हुने देखिए त्यस्ता जुलुसलाई अवरोध गर्नेछैन । त्यसो हुँदा प्रशासनले प्रदर्शनकारीको ‘मुभमेन्ट’ हेरेर सुरक्षाकर्मी परिचालन गर्ने रणनीतिमा प्रहरी पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले प्रदर्शनको ‘मुभमेन्ट’ विश्लेषण गरेर सुरक्षाकर्मी परिचालन हुने बताए । ‘सुरक्षाको आन्तरिक तयारी पूरा भएको छ । प्रदर्शनकारीको मुभमेन्ट कस्तो हुन्छ त्यसलाई विश्लेषण गर्छौँ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्छौँ । ब्याकअपमा सुरक्षाकर्मी तयारी अवस्थामा छन् । अन्य ठाउँबाट पनि थप बल माग गरेका छौँ । मुठभेड हुन नदिने प्रयत्नमा प्रहरी रहनेछ,’ उनले भने ।

जिप्रका काठमाडौंका अनुसार सदाझैँ यसपटक पनि सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै टोली खटाइनेछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि प्रदर्शनका क्रममा परिचालन हुनेछन् । सबैगरी ४५ सय सुरक्षाकर्मी खटाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

राजावादीले शान्तिवाटिकामै कार्यक्रम गर्ने भनेर प्रचार व्यापक बनाएको छ । प्रदर्शनमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीदेखि राप्रपा नेपालका अध्यक्ष कलम थापासम्म सहभागी रहने भनिएको छ । सुवेदी तिनै व्यक्ति हुन्, जसको संयोजकत्वमा गत १५ चैतमा तीनकुनेमा आगजनी, तोडफोड, लुटपाट र हत्यासम्मका घटना भएका थिए । कार्यक्रम लक्षित गरेर काठमाडौं प्रहरी परिसरले मातहतका तीन हजार जनशक्ति परिचालन गर्ने आन्तरिक तयारी गरेको छ । त्यस्तै, सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सयको जनशक्ति परिचालन हुने भनिएको छ । प्रहरीले एक हजार चार सय दस्तालाई ‘अलर्ट’मा राखेको छ ।  

आजदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा राजावादी
राजावादीहरूले बिहीबारदेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै छन् । रत्नपार्कको शान्तिवाटिकामा हुने आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह आन्दोलनमा सहभागी हुनेछन् । त्यसक्रममा मञ्च खडा गरेर सभा हुनेछैन । रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा सहभागीहरू छातासहित उपस्थित हुनेछन् । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजी नभएसम्म आन्दोलन जारी रहने राजावादी नेताहरूले दाबी गरेका छन् ।

रत्नपार्ककेन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने नेताहरूले बताएका छन् । शीर्ष नेताहरूले स्वयंसेवकलाई बुधबार प्रशिक्षण दिएका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले उनीहरूलाई प्रशिक्षण दिएका हुन् । आन्दोलनको अग्रभागमा शीर्ष नेताहरू रहने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । देश जोगाउन अवस्था र व्यवस्था बदल्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउँदै राजावादीले आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने दाबी गरेका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् । राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य स्थापनाका लागि सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले बिहीबारबाट जनआन्दोलनको थालनी गर्ने उनको भनाइ छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र बनाउने आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । ‘आन्दोलनको तयारी तीव्र रूपमा भइरहेको छ । देशभरबाट प्रदर्शनमा सहभागी हुन आउने क्रम जारी छ । देश बचाउने र बनाउने आन्दोलनमा सहयोग गर्न सहभागी हुन अपिल गर्दछु,’ उनले भने । 

‘प्रधानमन्त्रीले सडक कब्जा होइन, संगीतमय नियन्त्रण भन्नुभएको हो’
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी ओलीको सडक कब्जा गर्ने अभिव्यक्तिको बचाउ गरेका छन् । बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गरेका लेखकले भने, ‘प्रधानमन्त्रीजीले गणतन्त्र दिवस मनाउने क्रममा काठमाडौं उपत्यकालाई संगीतमय बनाऔँ । संगीत महोत्सवका रूपमा यसलाई बढाऔँ । गणतन्त्र दिवसलाई बडो उत्साहका साथ मनाऔँ । सांस्कृतिक कार्यक्रमका साथ मनाऔँ । परम्परागत बाजा, कलाहरू सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई महोत्सवका रूपमा, सांगीतिक महोत्सवका रूपमा मनाऔँ भन्ने अर्थमा भन्नुभयो । त्यसकारण उहाँले संगीतमय नियन्त्रणको कुरा गर्नुभयो । यो कुनै राजनीतिक, हिंसात्मक, विध्वंसात्मक नियन्त्रण होइन, संगीतको नियन्त्रण हो । पूरै काठमाडौैं उपत्यका संगीतमय होस् । र, यो उपत्यका संगीतको नियन्त्रणमा हुन्छ भन्ने अर्थमा प्रधानमन्त्रीले भनेको मैले बुझेको छु ।’ 

राप्रपा नेताहरूको पिएसओ खोसियो 
सरकारले राजावादी नेताहरूको व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) हटाएको छ । संविधानविरोधी गतिविधि गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा राप्रपा र राप्रपा नेपालका नेताहरूको पिएसओ हटाइएको हो । राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, प्रकाशचन्द्र लोहनी, दीपकबहादुर सिंह, ज्ञानबहादुर शाहीलगायतको पिएसओ हटाइएको छ । 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार १७ जना पिएसओ तानिएको छ । गणतन्त्र दिवसमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शनको तयारी भइरहेको पूर्वसन्ध्यामा उनीहरूको पिएसओ हटाइएको हो । राज्यबाट सुविधा लिएर संविधानविरोधी गतिविधिमा लागेको आधारमा सुरक्षा हटाइएको एक उच्च प्रहरी अधिकारीले बताए । राप्रपाका नेताहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पिएसओ हटाइएको आरोप लगाएका छन् । सांसद शाहीले बुधबार संसद् परिसरमा बोल्दै राजतन्त्रको पक्षमा लागेकै आधारमा पिएसओ तानिएको भन्दै फिर्ता गर्न माग गरेका छन् । प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार नेताहरूको सुरक्षामा खटिएका पिएसओहरूलाई ब्रिफिङका लागि प्रधान कार्यालयमा झिकाइएको हो ।

संविधानमै गणतन्त्र उत्सव मनाउने व्यवस्था गर्न एमालेको प्रस्ताव 
सत्तारूढ दल एमालेले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन १५ जेठलाई गणतन्त्र उत्सवकै रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेको छ । त्यही दिन बजेट घोषणाको संवैधानिक व्यवस्थाले गणतन्त्र दिवसको महत्व ओझेलमा परेको भन्दै संविधान संशोधनमार्फत राष्ट्रिय उत्सव मनाउने व्यवस्था गर्नुपर्ने एमालेको प्रस्ताव छ । राजनीतिक दलहरूले राष्ट्रिय सहमति गरेर अर्को दिन बजेट ल्याउने गरी संविधान संशोधन गर्न सकिने महासचिव शंकर पोखरेलले बताए । एमालेले गणतन्त्र उत्सव मनाउन बिहीबार आयोजना गरेको तयारीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै उनले राजनीतिक दलहरूबिच सहमति गरेर १५ जेठमा गणतन्त्र स्थापनाको राष्ट्रिय उत्सव मनाउने व्यवस्था संविधानमा लेखेर बजेट ल्याउने मिति परिवर्तन गर्न सकिने बताएका हुन् ।

‘भविष्यमा पार्टीको सोच के छ भने राजनीतिक दलहरूबिचको सहमतिमा संविधान संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोहका रूपमा आयोजना गर्ने र बजेट प्रस्तुत गर्ने दिन फरक दिनमा लैजान उचित हुन्छ भन्ने लागेको छ,’ पोखरेलले भने, ‘किनभने त्यस दिनले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनायो, जनाधिकार स्थापित गर्ने काम गर्‍यो । लोकतन्त्रको उच्चतम रूप नै गणतन्त्र हो । त्यो दिनलाई उपेक्षा गर्ने, कमजोर गर्ने हिसाबले जुन प्रकारको गतिविधि भइरहेको छ, त्यो जनताका लागि स्वीकार्य छैन भन्ने सन्देश जनताको खुसियालीको माध्यमबाट प्रकट गर्नुपर्छ ।’ पोखरेलले गणतन्त्र उत्सव सबै नेपालीको कार्यक्रम भएको भन्दै उत्सव मनाउने सुरुवातका रूपमा लिएर सहभागी हुन सबै दलका नेता–कार्यकर्ता र जनसमुदायलाई आह्वान पनि गरे । ‘हामी जनताको खुसियाली प्रकट गर्ने कार्यक्रम बनाउन खोज्दै छौँ । त्यसैले एमाले मात्र होइन, सबै दलका नेता–कार्यकर्ता सहभागी भएर गणतन्त्र उत्सवका रूपमा मनाउन आह्वान गर्न चाहन्छु,’ उनले भने ।