Skip This
समाजलाई झस्काउने हृदयविदारक घटना : ‘असल आचरण’मा कैद मिनाहा गरिएका युवाले गरे दुई नाबालिकासहित पूर्वपत्नीको हत्या
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
२o८२ जेठ १५ बिहीबार o६:२४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समाजलाई झस्काउने हृदयविदारक घटना : ‘असल आचरण’मा कैद मिनाहा गरिएका युवाले गरे दुई नाबालिकासहित पूर्वपत्नीको हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार o६:२४:oo

बुटवलमा भएको एक हृदयविदारक घटनाले समाजलाई झस्काइदिएको छ । एकपटक दाजुको हत्या गरेर जेल गएका सुजन कोइरालाले यसपटक आफ्नी पूर्वपत्नी र नाबालिका दुई छोरीको ज्यान लिएका छन् । दाजुको हत्यामा जेल गएका सुजनले असल आचरण भन्दै संविधान दिवसका अवसरमा ०७८ मा राष्ट्रपतिबाट कैद छुट पाएका थिए ।

प्रहरीका अनुसार बुटवलको होराइजन चोकस्थित मिलिजुली पथका ३५ वर्षीय सुजनले बुधबार बिहान करिब ४ बजे आफ्नै पूर्वपत्नी दीपा बस्याल (३०) र उनका दुई नाबालिका छोरी सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको निर्मम हत्या गरेका हुन् । उनीहरूलाई घरमा बोलाएर चक्कु र हम्बरले हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बताएअनुसार सुजनले आफूले हत्या गरेको स्विकारेका छन् । ‘विवादको कारण खुलेको छैन, तर विवाद भएपछि मैले चक्कु र हम्बरले हत्या गरेको हुँ भनेर सुजनले प्रहरीमा भनेका छन्,’ रुपन्देही प्रहरीका डिएसपी सुरज कार्कीले भने । प्रारम्भिक बयानका अनुसार सुजनले पहिला दीपाको हत्या गरेर बालिकाको हत्या गरेका थिए ।

प्रहरीका अनुसार सुजन र दीपाको ०६९ असोजमा प्रेम विवाह भएको थियो । सम्पत्ति विवादमा सहोदर दाजु सुदीपको २३ पुस ०६९ हत्या गरेका सुजन जेल गएका थिए । सुजन कारागारमै रहेका वेला ०७३ मा दीपासँग सम्बन्धविच्छेद भयो ।

सुजनसँग सम्बन्धविच्छेदपछि नवलपरासी कावासोती ८ का शंकर ढकालसँग दीपाको विवाह भएको थियो । शंकर एक वर्षदेखि रोजगारीका क्रममा दुबईमा छन् । दीपा माइतीघर पाल्पामा थिइन् । दीपा र शंकरका दुई छोरी थिए ।

कैद सजाय १६ वर्ष भए पनि नौ वर्ष भुक्तान गरेका वेला असल चालचलन भन्दै संविधान दिवस ३ असोज ०७८ मा उनको कैद छुट भएपछि रिहा भएका थिए । रिहापछि सुजन दीपासँग नजिकिन खोजेका थिए ।

सुजनले मंगलबार दीपालाई माइतीघर पाल्पाबाट बुटवल बोलाएका थिए । बुटवल आएपछि सुजनले मोटरसाइकलमा राखेर रुपन्देहीको गजेडी ताल घुमाउन लगेका थिए ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार राति करिब ८ बजेतिर घर आएका उनीहरूबिच राति झगडा भएको थियो । आवेशमा आई हत्या गरेको सुजनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘राति झगडा भयो, रिस कन्ट्रोल गर्न सकिनँ र हत्या गरेँ,’ भनेर सुजनले प्रहरीमा बताएको डिएसपी कार्कीले बताए ।