
आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको सरकारलाई चालू आर्थिक वर्षको १० महिना बित्दा पनि स्रोतको सकस व्यहोर्नुपरेको छ । चालू आवको १० महिनामा (साउन–वैशाख) ११ खर्ब २७ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले नौ खर्ब २२ अर्ब ४३ करोड मात्रै संकलन गरेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा लक्ष्यभन्दा दुई खर्ब पाँच अर्बले कम राजस्व उठेको हो ।
कुल राजस्वमा २० प्रतिशत योगदान पुर्याउन भन्सार महसुल लक्ष्यको ७३.६२ प्रतिशत मात्रै उठेको छ । १० महिनामा दुई खर्ब ५० अर्बबराबर महसुल उठाउने लक्ष्य लिइएकोमा एक खर्ब ८४ अर्ब मात्रै संकलन भएको छ । वैशाख महिनामा मात्रै यस्तो महसुल २० अर्ब ७६ करोड उठेको छ । यो मासिक लक्ष्यको ७८.५५ प्रतिशत हो । १० महिनाको लक्ष्यको तुलनामा ८६.६९ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) संकलन भएको छ । तीन खर्ब ११ अर्ब रुपैयाँ भ्याट उठाउने लक्ष्य लिइएकोमा दुई खर्ब ६९ अर्ब मात्रै संकलन भएको छ । उत्पादन तथा बिक्रीबापत संकलन हुने भ्याट लक्ष्यको ८८.११ प्रतिशत उठेको छ भने आयातबापत उठ्ने भ्याट लक्ष्यको ८५.६९ प्रतिशत मात्रै संकलन भएको छ ।
मदिरा, सुर्तीचुरोटजस्ता वस्तुमा लाग्ने अन्तःशुल्क संकलन लक्ष्यको ९०.१७ प्रतिशत छ । एक खर्ब ५७ अर्बको अन्तःशुल्क उठाउने लक्ष्य लिइएकोमा एक खर्ब ४२ अर्ब संकलन भएको छ । जसमा आन्तरिक उत्पादनतर्फको अन्तःशुल्क उल्लेख्य रूपमा संकलन भएको छ । आन्तरिक उत्पादनबाट लक्ष्यको ९२.२ प्रतिशत अन्तःशुल्क संकलन भएकोमा आयातबापत लक्ष्यको ८४.८ प्रतिशत मात्रै उठेको छ ।
१० महिनामा तीन खर्ब एक अर्बको आयकर संकलन गर्ने लक्ष्य लिइएकोमा दुई खर्ब २९ अर्ब मात्रै उठेको छ । अर्थात्, लक्ष्यको ७५.९९ प्रतिशत मात्रै उठेको हो । जसमा ब्याजकर लक्ष्यको ६१.९५ प्रतिशत मात्रै उठेको छ । एक खर्ब तीन अर्बको गैरकर उठाउने लक्ष्य लिएकोमा ९३ अर्ब ४९ करोड संकलन भएको छ । भन्सार विभागलाई १० महिनामा चार खर्ब ७६ अर्बको राजस्व उठाउने लक्ष्य दिइएकोमा तीन खर्ब ७७ अर्ब (७९.२६ प्रतिशत) मात्रै संकलन भएको छ । आन्तरिक राजस्व विभागको सो अवधिको लक्ष्य पाँच खर्ब ४७ अर्ब भए पनि चार खर्ब ५१ अर्ब (८२.३८ प्रतिशत) संकलन भएको छ ।
१०.८८ प्रतिशतले बढ्यो राजस्व, ब्याजबापत उठ्ने कर ऋणात्मक
गत आर्थिक वर्ष ०८०/८१ को १० महिनाको राजस्व संकलनको तुलनामा चालू आवको सोही अवधिमा १०.८८ प्रतिशत बढीले राजस्व उठेको छ । गत आवको १० महिनामा आठ खर्ब ३१ अर्ब ९३ करोडको राजस्व संकलन भएकोमा चालू आवमा नौ खर्ब २२ अर्ब ४३ करोडको राजस्व उठेको हो । भन्सार महसुल १३.५९ प्रतिशतले बढेको छ । जसमा निकासीबाट उठ्ने महसुल १६८.९२ प्रतिशतले बढेको देखिन्छ ।
आयातबाट उठ्ने महसुल १३.९८ प्रतिशतले वृद्धि भएको छ । भ्याट संकलन १०.२१ प्रतिशतले बढेको छ जसमा उत्पादन तथा बिक्रीबापत १५.०७ प्रतिशतले भ्याट संकलनमा वृद्धि भएको छ । अन्तःशुल्क संकलन १९.२९ प्रतिशतले बढेको छ । जसमा आयातबाट संकलन हुने अन्तःशुल्क मात्रै २२.१२ प्रतिशतले बढेको छ । आयकर संकलन ५.२३ प्रतिशतले बढेको छ । तर, ब्याजबापत हुने आम्दानीमा लाग्ने कर संकलन १७.०८ प्रतिशतले घटेको छ । भन्सार विभागले गत आवको १० महिनाको तुलनामा चालू आवको सोही अवधिमा ११.५८ प्रतिशतले बढी राजस्व संकलन गरेको छ भने आन्तरिक राजस्व विभागले १०.५९ प्रतिशतले बढी राजस्व उठाएको छ ।
दुई महिनामा झन्डै पाँच खर्ब राजस्व उठाउन दबाब
चालू आर्थिक वर्ष बित्न दुई महिना मात्रै बाँकी रहँदा सरकारलाई वार्षिक लक्ष्य भेट्टाउन चार खर्ब ९६ अर्ब ८७ करोड राजस्व उठाउनुपर्ने दबाब छ । चालू आर्थिक वर्षभरिमा १४ खर्ब १९ अर्ब ३० करोडको राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्ममा ६४.९९ प्रतिशत मात्रै उठाउन सकेको छ । भन्सार महसुलतर्फ वार्षिक लक्ष्यको ६०.०१ प्रतिशत मात्रै संकलन गरेको छ । भ्याटतर्फ ६९.७५ प्रतिशत, अन्तःशुल्कतर्फ ७३.०५ प्रतिशत र आयकरतर्फ ५८.६३ प्रतिशत मात्रै उठेको छ । गैरकरको वार्षिक लक्ष्यको ६९.२ प्रतिशत मात्रै संकलन भएको छ । भन्सार विभागले जेठ र असारमा वार्षिक लक्ष्य भेट्टाउन दुई खर्ब पाँच अर्ब राजस्व उठाउनुपर्ने हुन्छ । त्यस्तै, आन्तरिक राजस्व विभागले दुई खर्ब ५० अर्ब उठाउनुपर्ने हुन्छ ।