१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
Invalid date format १६:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायांकन गरिन लागिएको हो ।

हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठुलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।

नेपालका विभिन्न जिल्लामा छायांकन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिवेलामा भने छायांकनका लागि यहाँ आइपुगेको छायांकन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए । उनका अनुसार उक्त फिल्मका लागि करिब तीन सयभन्दा बढी जनशक्तिसहित ८० भन्दा बढी कार तथा भ्यान, सानाठूला सामान बोक्ने ट्रक ५० भन्दा बढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारीसाधन मुस्ताङ भित्रिएका छन् ।

उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटेल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए । घरपझोङ गाउँपालिका– ५ को कुछ्प तेरंगा गुम्बा र घरपझोङ– १ को लक्कीमा सो फिल्मको छायांकन हुने सहजकर्ता गुरुङले उल्लेख गरे । 

यसैगरी, थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायांकन गर्ने योजना रहेको गुरुङको भनाइ छ । 

सगरमाथा आरोही शेर्पाको हिमाल आरोहण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृश्य फिल्ममा समेटिने बताइएको छ । मुस्ताङमा यो फिल्म छायांकनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेसन’ छायांकनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ ।

जिल्लाका तीन पालिकामा छायांकन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटेल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए। पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायांकनले यहाँको आर्थिक विकासमा ठुलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताए । 

मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायांकन भएको थियो । त्यसपछि सबैभन्दा ठुलो लागतको हलिउड चलचित्र ‘टासी’ छायांकन हुन लागेको हो । मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायांकन हुने चलचित्रले टेवा पुर्‍याउने गरेको छ । मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अंग्रेजी फिल्म छायांकन भइसकेका छन् । यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायांकन केन्द्र बन्दै जान थालेको छ । रासस