
झापाको बुद्धशान्ति गाउँपालिका– ४, बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ। सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन्।
गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘कति पर्यटक आउँछन् भनेर तथ्यांक राखिएको छैन,’ गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले भने। पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ ।
साना होटेल र चियापसल पनि खुल्ने क्रम जारी छ। झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईंले बताए। पालिकाले गत वर्ष त्यसवरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ ।
पालिकाले गुलमोहरको रुख भएको सडकछेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् । इलामको कन्याम, श्रीअन्तु, माईपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन्। यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं. ६ मा कोशी प्रदेशकै लामो झोलुंगे पुल रहेको छ। झोलुंगे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन्। गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनहरूमा यात्रुको चाप बढाएकाे छ।