
स्थानीय तह सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा रहे पनि चासो नदिँदा जुम्लामा नदीजन्य वस्तु ढुंगा, गिट्टी–बालुवाको अवैद्य उत्खनन बढ्दै गएको छ । नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित नगर्दा स्थानीय सरकारले करोडौँ राजस्व मात्र गुमाएको छैन, वातावरणको पनि चरम दोहन भइरहेको छ । खेतीयोग्य जमिन कटानको समेत जोखिम बढेको छ ।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा कुनै पनि स्थानीय सरकारले अहिलेसम्म नदीजन्य वस्तु उत्खननका लागि वातावरणीय प्रभाव मूल्यांकन गरेका छैनन् । अनुमतिविना नदीको धार र स्वरूप नै परिवर्तन हुने गरी डोजरको प्रयोगले वर्षौँदेखि नदीजन्य पदार्थको उत्खनन भइरहेको छ । अवैध उत्खननले खेतीयोग्य जमिन कटान हुनुका साथै तिला नदीमा असला माछासमेत लोप हुन थालेको स्थानीय दुर्गाप्रसाद पाण्डेले बताए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले चन्दननाथ नगरपालिकासँगै सिँजा, हिमा, तिला, गाउँपालिकामा अत्यधिक गिट्टी–बालुको अवैध उत्खनन भइरहेकोे बताए । उनका अनुसार पातारासी, गुठीचौर र कनकासुन्दरी गाउँपालिकामा आंशिक उत्खनन भइरहेको छ । जुम्लाको पर्यटकीय गन्तव्यमा पर्ने गुठीचौर उपत्यकामा समेत अवैध उत्खनन हुँदा गुठीचौर गाउँपालिका हेरेर बसेको समेत समन्वय प्रमुख आचार्यले बताए । उनले भने, ‘जिल्लाका पालिकाहरू विकाससँगै आफ्नो स्रोत अवैध उत्खननमा पनि अब्बल छ । करोडौँ राजस्व गुमिरहँदा पनि चुइँक्क बोल्न सकेका छैनन् । व्यवस्थित उत्खननका लागि वातावरण प्रभाव मूल्यांकन र ठेक्का प्रक्रियामा समेत जान सकेका छैनन् । यसमा केही रहस्य छ । यसको सोधीखोजी गर्न आवश्यक छ ।’
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले स्थानीय तहको आफ्नै लापरबाहीले नदीजन्य वस्तुको दोहन चरम रूपमा बढेको बताए । उनले भने, ‘कार्यक्रम विशेषले पालिकामा जाँदा खुलेआम नदीमा डोजर पसेको देखिन्छ । पटक–पटक छलफल हुँदा पनि नियमन गर्न, राजस्व बढाउनतर्फ पालिकाको ध्यान पुगेको देखिन्न । गिट्टी–बालुवा उत्खनन, नियमनको अधिकार स्थानीय तहकै भएकाले प्रहरी प्रशासनले केही गर्न सक्ने अवस्थामा छैन ।’ स्थानीय तहलाई नै बढी जवाफदेही बनाउन खोजे पनि आजका दिनसम्म एक दिन पनि अवैध उत्खननको अनुगमन, निरीक्षणसमेत हुन नसकेको उनले बताए ।
गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले गुठीचौर उपत्यकाको सुन्दरतालाई कुरूप बनाउने गरी भइरहेको अवैध उत्खननप्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘गिट्टी–बालुवाको अवैध उत्खनन व्यवस्थित गर्ने कार्यविधि निर्माण भइसककेको छ । यद्यपि, कार्यान्वयनमा आएको छैन,’ उनले भने, ‘प्रारम्भिक वातावरणीय मूल्यांकन गर्ने तयारी गरिरहेका छौँ । पालिकाले कसैलाई पनि गुठीचौरको गिट्टी–बालुवा उत्खनन गर्न दिएको छैन । गुठीचौरको संरक्षण र सुन्दरता बिग्रिन नदिने हाम्रो दायित्व हो ।’
चन्दनाथ नगरपालिकाको दानसाँघु, छिनासाँघु, उठिल्या, तातोपानीको हाँकु, राँका, तिला गाउँपालिकाका त्रिवेणी, लुम्सेरा, हिमा, सिँजा, गुठीचौर, पातारासीका थुप्रै स्थानमा बालुवा–गिट्टी उत्खनन गरी निर्यात गर्ने गरेका छन् ।
दानबहादुर बुढा, अध्यक्ष, गुठीचौर गाउँपालिका
गुठीचौर उपत्यकाको सुन्दरतालाई कुरूप बनाउने गरी भइरहेको अवैध उत्खननप्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । गिट्टी–बालुवाको अवैध उत्खनन व्यवस्थित गर्ने कार्यविधि निर्माण भइसककेको छ । यद्यपि, कार्यान्वयनमा आएको छैन । प्रारम्भिक वातावरणीय मूल्यांकन गर्ने तयारी गरिरहेका छौँ । पालिकाले कसैलाई पनि गुठीचौरको गिट्टी–बालुवा उत्खनन गर्न दिएको छैन । गुठीचौरको संरक्षण र सुन्दरता बिग्रिन नदिने हाम्रो दायित्व हो ।