
कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो सेवालाई छिटो, सस्तो र प्रभावकारी बनाउन थालेपछि स्वास्थ्य परीक्षण गराउन आउनेको संख्या बढ्न थालेको छ । कोशी प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालाले निजी क्षेत्रका अस्पताल र क्लिनिकले दिनेभन्दा सस्तोमा विज्ञ प्राविधिकमार्फत सर्वसुलभ रूपले छिटो सेवा दिन थालेपछि स्वास्थ्य परीक्षण गराउनेको संख्या बढ्न थालेको हो ।
प्रशासन शाखा प्रमुख रेवती ढुंगानाले प्रयोगशालाले जो–कोहीलाई डेंगु, मलेरिया, कालाजार, एचआइभी, टिबीलगायत १० प्रकारका संक्रामक रोगको नि:शुल्क परीक्षण गर्ने गरेको छ । डायलासिस गराइरहेका मिर्गौलाका बिरामीले परीक्षणमा ९० प्रतिशत छुट पाउँछन् । विद्यार्थी, खेलाडी, कर्मचारी, दलित, सीमान्तकृत, द्वन्द्वपीडितलाई ५० प्रतिशत छुट हुन्छ । प्रयोगशालाले सर्वसाधारणलाई निजी क्षेत्रका अस्पताल र प्रयोगशालाले भन्दा ६० प्रतिशत कम शुल्कमा विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गरी तुरुन्तै प्रतिवेदन उपलब्ध गराउँदै आएको ढुंगानाले बताए । उनका अनुसार प्रयोगशालाले रगत, मिर्गौला, कलेजो, मुटु, थाइराइड, पाठेघरको मुखसम्बन्धी परीक्षण, क्यान्सर, सुगर, भिटामिनदेखि इन्फेक्सनसँग जोडिएका सबैखाले परीक्षण न्यून शुल्कमा गर्दै आएको छ । प्रयोगशालामा इन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, पारासाइटोलोजी, भिरोलोजी, मोलिक्युलर, हेमाटोलोजी, बायोकेमेस्ट्री, प्याथोलोजीलगायत सेवा उपलब्ध छ ।
प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीले अन्तर्राष्ट्रिस्तरको उपकरणसहितको प्रयोगशाला स्थापना गरेर दक्ष जनशक्ति नियुक्त गरेपछि कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो सेवाको गुणस्तरमा परिवर्तन ल्याएको बताए । हाल दैनिक सयजनाले स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । प्रयोगशालाले जाँचका लागि स्याम्पल प्राप्त गरिसकेपछि अत्याधुनिक मेसिनबाट परीक्षण गरेर क्युआर कोडमार्फत बिरामीलाई मोबाइलमा पठाइदिने गरेको छ । कोशी जनस्वास्थ्य प्रयोगशालाले निजीमा चार हजार रुपैयाँ पर्ने बायोप्सी परीक्षण मात्र तीन सय, बाहिर दुई हजार रुपैयाँ पर्ने थाइराइड जाँच मात्र ६ सय रुपैयाँ र रगतको जाँच ५० रुपैयाँमा गरिदिने गरेको छ ।
प्रयोगशालाले प्रदेशका चौधवटै जिल्ला अस्पतालबाट सबै प्रकारका स्याम्पल मगाएर नि:शुल्क परीक्षण गरिदिन थालेको छ । त्यसका लागि दुई दिनभित्र सबै प्रकारका बिरामीको स्याम्पल आइपुग्ने गरी ‘नेपाल क्यान मुभ’ नामक कुरिअर कम्पनीसँग सम्झौता गरेर बिरामीलाई नि:शुल्क परीक्षण सेवा दिन थालेको छ । प्रयोगशालाकी एमडी प्याथोलोजिस्ट डा. सिर्जना यादवले सम्झौताअनुसार दुई दिनभित्र प्राप्त भएका स्याम्पलहरूको परीक्षण गरेर सोझै अस्पतालालाई प्रतिवेदन पठाइदिने गरेको बताइन् । जिल्ला अस्पतालमा बिरामीले स्वास्थ्य परीक्षण गराउन पठाउँदा लाग्ने शुल्क प्रयोगशाला आफैँले बेर्होने गरेको छ ।