१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ४ आइतबार o७:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धेरैतिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार o७:१३:oo

प्रधानमन्त्री केपी ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार पुरानो पार्टी कार्यालय परिसर मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले विचारसहितको एकता मात्र दिगो हुने भन्दै सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए । 

‘सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा इतिहासदेखि नै देखापर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ’, ओलीले भने, ‘पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिस्ट निरंकुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्‍यो । यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन, आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रुपमा स्थापित भइसकेको छ ।’

राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको उनको भनाइ थियो । एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सकिन्छ भन्ने तत्वहरूले अनेक षड्यन्त्र गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर ढुक्कका साथ अघि बढ्न ओलीले आग्रह गरे । 

‘पार्टीभित्रका असन्तुष्टहरू दुईपल्ट खुसी भए । एकपल्ट ३ जेठको दुर्घटनाबाट । त्यसमा पनि खासगरी मदन भण्डारीलाई नेतृत्वबाट हटाइयो, अथवा मदन भण्डारीलाई हामीले सधैंका लागि पन्छायौं भन्ने खुसीयालीमा उनीहरू लागे । अर्कोपटक एमालेको लोकप्रिय सरकारलाई सत्ताबाट ढाल्न पाउँदा उनीहरू सफिल हुँदा खुसी भए । त्यही चिज पार्लियामेन्टबाट गर्न सकिन्थ्यो, गर्न सक्थे । त्यहाँनेर हाम्रो पार्टीको लिडरसिपले गम्भीर गल्ती गर्‍यो । कार्यनीतिक गल्ती गर्‍यो । होइन भने हामीले त्यो सरकारलाई जोगाएर हामो नेतृत्वमा चुनावमा गएर हामीले सके दुई तिहाइ नसके सजिलोसँग बहुमत प्राप्त गर्नसक्ने अवस्था बनेको थियो,’ उनले भने ।

एमालेले अग्रगतिका लागि निष्क्रिय कामना होइन, सक्रिय हस्तक्षेपको नीति लिँदै बताउँदै उनले विश्वमा दक्षिणपन्थ, जातीयता र अराजकतावादका कारण आन्दोलनमा क्षति भएको उल्लेख गर्दै आफूहरूले त्यस्ता कमीकमजोरी नगरी विविधतालाई सांस्कृति समृद्धि मानेर एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको बताए । जननेता भण्डारी कम्युनिस्ट आन्दोलनलाई समयानुकूल रुपमा हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै उनले विश्वमा कम्युनिस्ट आन्दोलन धराशयी हुँदै गएका वेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्‍याएको बताए । 

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी थिइन् । उनले भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलीसहित माल्यार्पण गरेकी थिइन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायत कार्यक्रममा सहभागी थिए । एमालेले स्मृति दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।