
बार्सिलोनाले यस सिजनको स्पेनिस ला लिगाको उपाधि उचालिसकेको छ । बार्सिलोनाले उपाधि जितेको खुसियाली घरेलु मैदानमा मनाउन पाएन । बार्सिलोनाको विश्वचर्चित घरेलु मैदान नाउ क्याम्प अहिले पुनर्निर्माणको लगभग अन्तिम चरणमा छ । नाउ क्याम्पलाई विश्वकै एक उत्कृष्ट रंगशाला बनाउन बार्सिलोनाले अहिलेसम्म एक अर्ब २५ लाख पाउन्ड खर्चेको स्पेनिस मिडिया एल मार्काले जनाएको छ । यद्यपि, यो रंगशाला तयार हुन थप समय लाग्ने एल मार्काले जनाएको छ ।
सन् २०२३ को जुनदेखि नाउ क्याम्प रंगशालाको स्तरीयकरण र यसको क्षमता बढाउन पुनर्निर्माण थालिएको हो । रंगशाला पूरै तयार हुँदा यहाँ सहजै एक लाख पाँच हजार दर्शकले प्रतिस्पर्धा हेर्न पाउनेछन् । अहिले बार्सिलोनाले ओलम्पिक रंगशालालाई घरेलु मैदानका रूपमा प्रयोग गरिरहेको छ । ओलम्पिक रंगशालाको क्षमता ५७ हजार ६ सय ३७ रहेको छ । गत वर्षको २९ नोभेम्बरमा नाउ क्याम्पले आफ्नो स्थापनाको एक सय २५औँ वार्षिकोत्सव मनाएको थियो ।
सुस्त गतिमा निर्माण
ठेक्का पाएको कम्पनीले नाउ क्याम्पलाई चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्धको अन्तिम ‘एल क्लासियो’अगाडि नै तयार हुने भनेको थियो । पछिल्लो समयमा निर्माण कार्य सुस्त गतिमा हुँदा ‘एल क्लासियो’ यहाँ हुन पाएन । अहिले बार्सिलोनाका खेलाडीले नयाँ सिजन सुरु हुनुअगाडि नै ऐतिहासिक नाउ क्याम्प रंगशालामै अभ्यास र प्रतिस्पर्धा गर्न पाउने आशा राखेका छन् । प्रोजेक्ट डाइरेक्टर ज्याक्सले सन् २०२५–०२६ को सिजनमा रंगशालामा खेलाडीले प्रतिस्पर्धा गर्न पाउने जनाएका छन् ।
‘हामीले एल क्लासियोअगाडि नै रंगशालाको निर्माण पूरा गर्ने लक्ष्य राखेका थियौँ,’ ज्याक्सले भने, ‘केही प्राविधिक कारण लक्ष्यसम्म पुग्न सकेनौँ ।’ कम्पनीसँगको सम्झौताअनुसार मार्चको अन्त्यसम्म नाउ क्याम्प रंगशालाको पुनर्निर्माण सकिनुपर्ने थियो । तर, सुरुका दिनमा तीव्र गतिमा काम भए पनि पछिल्ला महिनामा यसको गतिमा ब्रेक लागेको ज्याकले बताए । उनका अनुसार रंगशालाको छत जडान कार्यमै ढिला भएको हो ।
‘हामीलाई सबैभन्दा काम गर्न कठिन भएको यसको छत राख्ने हो,’ उनले भने, ‘सम्भवतः नाउ क्याम्पको छत युरोपमा प्राप्त रंगशालामध्येकै बृहत् छ ।’
पुनर्निर्माण काम सम्पन्न भए बार्सिलोनाको नाउ क्याम्प युरोपकै आधुनिक रंगशाला बन्ने दाबी ज्याक्सले गरेका छन् । नाउ क्याम्प समयमै नसकिनुपछडि प्राविधिक पक्षबाहेक आर्थिक पक्ष मानिएको छ । गत सिजनमा खेलाडी भिœयाउन बार्सिलोनाले राम्रो दाम खर्चेको थियो । यसको प्रभाव रंगशालामा प¥यो ।