
पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन २० जेठमा हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण आरोहण दिवस अर्थात् ३ जुनको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुक, कास्कीको आयोजनामा म्याराथन हुन लागेको आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
४२.१९५ किलोमिटरको म्याराथन चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुनेछ। माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकस्थित श्री मेश्रम बराह माविको खेलमैदानमा आएर सम्पन्न हुनेछ।
अन्नपूर्ण आधार शिविरको पदमार्गको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनसँगै खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गर्दै आएको आयोजक समितिका अध्यक्ष एवं म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वको आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ। सोही दिनको अवसर पारी पदयात्रा मार्गमा विगत चार वर्षदेखि म्याराथन आयोजना हुँदै आएको छ।
महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने म्याराथनको दुवै विधामा प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रोले ७५ हजारसँगै पदक र प्रमाणपत्र पाउनेछन्। यसैगरी थप पुरस्कारहरूमा अन्नपूर्ण गाउँपालिकाका प्रथमलाई विशेष पुरस्कार (अन्नपूर्ण गापा घर भई म्याराथनमा सहभागी भएका धावक), गण्डकी प्रदेश प्रथमलाई विशेष पुरस्कार (गण्डकी प्रदेशमा घर भई म्याराथनमा सहभागी भएको धावक), महिलातर्फ निरन्तर तीनपटकसम्म सहभागी हुने धावकलाई विशेष पुरस्कार, विदेशी धावक (महिला तथा पुरुष) प्रथमलाई विशेष पुरस्कार, ७५औँ स्थान प्राप्त गर्ने धावकले डायमन्ड जुब्ली अवार्ड पाउनेछन्।
त्यसैगरी विदेशीका लागि प्रोत्साहन पुरस्कारस्वरूप विशेष पुरस्कारको व्यवस्था गरिएको छ। म्याराथनमा सहभागिताका लागि सात हजार रुपैयाँ दर्ता शुल्क तोकिएको आयोजकले जनाएको छ। नाम दर्ताका लागि १५ जेठसम्मको समय रहेको छ भने सहभागीहरू १८ जेठमा म्याराथन आरम्भ विन्दु अन्नपूर्ण आधार शिविरमा पुगेर आयोजकको सम्पर्कमा आउनुपर्नेछ। म्याराथनमा सहभागिताका लागि शुक्रबारसम्म १० विदेशीसहित ६० जना धावकले नाम दर्ता गराइसकेका छन्। म्याराथनको सम्पूर्ण प्राविधिक काम अल्टिमेट एडभेन्चर नेपालले गर्नेछ।
सन् १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्गोजको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ७५ वर्ष पुग्दै छ। यस अर्थमा पनि यस वर्षको अन्नपूर्ण म्याराथनको पाँचौँ संस्करण हीरक उत्सवका रूपमा मनाउन लागिएको अध्यक्ष गुरुङले जानकारी दिए। म्याराथन सम्पन्न गर्न करिब ३८ लाख खर्च हुने अनुमान गरिएको छ।