
नेकपा (माओवादी केन्द्र)ले बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जागरण अभियानको थालनी गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)केन्द्रित जनतासँग माओवादी जागरण अभियान’को शुभारम्भ गरेका हुन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल तथा महासचिव देव गुरुङसहितका केन्द्रीय नेताहरूको सहभागितामा उक्त अभियान सुरुवात गरिएको हो। अभियानको उद्घाटन सभामा बोल्दै अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्गआसपासमा बस्ने समुदायका समस्या सुनेर सिंहदरबारसम्म पुर्याउने र सरकारका गलत कामहरूविरुद्ध खबरदारी गर्ने बताए।
गत फागुन १२ गतेबाट सुरु भई केही समयअघि सम्पन्न हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान र मध्यपहाडी लाेकमार्गकेन्द्रित अभियान सञ्चालन गर्नुका पछाडि माओवादीको भावनात्मक र राजनीतिक अर्थ रहेको प्रचण्डले जिकिर गरे। ‘पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी क्षेत्रका बासिन्दाको जीवनमा गति र परिवर्तन ल्याउन मैले नै प्रस्ताव गरेको थिएँ,’ मध्यपहाडी लोकमार्ग सुरु हुँदाको पृष्ठभूमि बताउँदै उनले भने, ‘बैतडीको पाटनबाट देशभरिका जनतालाई जानकारी दिन चाहन्छु, ०६५ फागुन २६ गते मन्त्रिपरिषदबाट मैले निर्णय गराएको हुँ।’
मध्यपहाडी लोकमार्गको लागत ८४ अर्ब रहेको र हालसम्म ५९ अर्ब रकम खर्च भएर तीन खण्डमध्ये दुई खण्ड कालोपत्रे भइसकेको उनले बताए। उद्घाटन सभामा बोल्दै प्रचण्डले आफूहरू जनताका अगाडि मन्तव्य दिने र हिँड्ने कार्यक्रमका लागि मात्र नभई यस क्षेत्रका जनताको समस्या बुझ्ने र त्यसको समाधानका लागि पहल गर्ने जिकिर गरे।
यस क्षेत्रका जनताका समस्या सुनेर वर्तमान सरकारसमक्ष प्रस्तुत गरेको बताउँदै उनले ‘मध्यपहाडका समस्या सिंहदरबारलाई सुनाउन’ यो अभियान चलाएको बताए। राजमार्गकेन्द्रित माओवादीका अभियान तराई, पहाड र हिमालका बासिन्दाका कुरा सुन्ने र उनीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने अभियान रहेको प्रचण्डको भनाइ थियो।
पाटनमा बन्द रहेको विमानस्थल सञ्चालनदेखि यहाँका स्थानीय समस्या समाधानका लागि समेत आफूहरूले सहयोग गर्ने प्रचण्डको आश्वासन छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सुशासनको पक्षमा काम गरेकाले बिचौलिया, दलालहरूले सरकारबाट बाहिर आउन बाध्य पारेको गुनासो गरे। उनले सरकारका कामहरूप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘यो सरकारले भ्रष्टाचारीहरूलाई सम्मानित गर्ने, राम्रा मान्छेहरूलाई दण्डित, अपमानित गर्ने गरेको छ। अहिलेको गठबन्धनको सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। त्यसमा अनेक खालका चलखेल र प्रपञ्च भएका छन्। यो सरकार बिलकुल गलत दिशातिर गएको छ।’
प्रचण्डले मध्यपहाडी लोकमार्गबाटै सरकारका गलत कामहरूका विरुद्ध चुनौती दिने प्रस्ट पारे। ‘म सरकारलाई यहीँबाट चुनौती दिन चाहन्छु, तपाईंहरूले यसरी नै जनताको आवाजलाई, जनताको मतलाई बेवास्ता गरेर भ्रष्टाचारलाई नै प्रश्रय दिने, विकृति–विसंगतिलाई नै प्रश्रय दिने हो भने माओवादी मात्र होइन, तराई, मधेश, पहाड, हिमालका र सबै दलका कार्यकर्ता शक्तिशाली आन्दोलनमा आउनुपर्ने अवस्था बन्नेछ। त्यसबाट तपाईं सबैको भविष्य के हुन्छ ? अहिल्यै सोचेर बस्न आग्रह गर्न चाहन्छु।’