
तराई/ मधेशकेन्द्रित दलहरूको संयुक्त लोकतान्त्रिक मोर्चाले सचिवालय गठन गरेको छ। लोसपाको केन्द्रीय कार्यालय बबरमहलमा लोसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले प्रत्येक दलबाट एक/एकजना प्रतिनिधि रहने गरी सचिवालय गठन गरेको हो।
सचिवालयमा जसपा नेपालबाट रामकुमार शर्मा, जनता प्रगतिशील पार्टीबाट डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान, तमलोपाबाट ब्रजकिशोर सिंह र लोसपाबाट ज्ञानेन्द्र झा छन्। नागरिक उन्मुक्ति पार्टीबाट सचिवालयका रहने सदस्य चयन हुन बाँकी रहेको छ।
बैठकले संविधान संशोधनबारे मोर्चाको अवधारणा यथाशीध्र तय गर्न सचिवालयलाई निर्देशन दिएको छ। सचिवालयले मोर्चाको रणनीति, योजना र कार्यक्रम निर्माण र कार्यान्वयनमा काम गर्ने सचिवालय सदस्य यादवले बताए। ‘मोर्चाको सचिवालय गठन भएको छ। मोर्चालाई व्यवस्थित बनाउन सचिवालयले काम गर्छ,’ उनले भने।
मोर्चाले जनसंख्या मानवविकास सूचकांकलाई आधार मानेर बजेट विनियोजन हुनुपर्ने माग गरेको छ। मधेश/तराईलगायत सबै क्षेत्रमा न्यायोचित रूपमा बजेट वितरण हुनुपर्ने माग बैठकले सरकारसँग गरेको छ।
मधेश जनविद्रोह, आन्दोलन, किराँत लिम्बुवान आन्दोलनलगायतका आन्दोलनका क्रममा झुटा मुद्दा लगाई जेलमा राखिएका राजबन्दीलाई विनासर्त रिहा गर्न पनि बैठकले सरकारसँग माग गरेको छ।
संसदमा प्रस्तुत भएको भूमि विधेयकको सम्बन्धमा मोर्चाको समस्त धारणा तय गरी प्रस्तुत हुने निर्णयसमेत बैठकले गरेको छ।