
महोत्तरीको बर्दीबासमा ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा सिराहाको लहानबाट काठमाडौं जाँदै गरेको हायस गाडी चेकजाँच गर्दा सोही गाडीको पछिल्लो सिटमा बसेका नुवाकोट जिल्ला लिखु गाउँपालिका– ५ बस्ने २८ वर्षीय दीपेश श्रेष्ठलाई प्रहरीले ५.३७ ग्राम ब्राउनसुगरसहित मंगलबार बिहान पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बर्दीबासका डिएसपी विकास बमको कमान्डमा रहेको लागुऔषध नियन्त्रण ब्युरो बर्दीबासको संयुक्त टोलीले श्रेष्ठले दुवै खुट्टाको मोजाभित्र लुकाइछिपाइ राखेको सो परिमाणको लागुऔषध फेला पारेको हो ।
यता लागुऔषध ब्राउनसुगर बोक्नेलाई सघाएको भन्दै प्रहरीले लिखु गाउँपालिकाकै वडा नं. ६ निवासी २८ वर्षीय राजेन्द्र डंगोललाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले जनाए । उनले पक्राउ परेका दुवैजनासँग अनुसन्धान भइरहेको बताए ।