
कोही मतदान गर्न लाइनमा तम्तयार देखिन्छन् । कोही मतदान गरेर फर्र्किँदै छन् । केहीले मतपत्र पट्याएर बुथमा खसाल्दै गरेको देखिन्छ । डोरीको घेराबाहिर डेक्ससहित बसेका निर्वाचन कमिटीका व्यक्तिहरूलाई निर्वाचन गराउन आफ्नै चटारो छ । कतिपयले मतदानस्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।
काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कूलमा सोमबार विद्यार्थीले गरेको चुनावी अभ्यासले साँच्चिकै निर्वाचनको झल्को दिइरहेको थियो । नेपालमा हुने निर्वाचन प्रणाली र प्रक्रिया सिकाउन ४ देखि १० कक्षासम्मका विद्यार्थीलाई हरेक वर्ष विद्यालयले यसरी नै अभ्यास गराउने गर्छ । मतदान शिक्षा दिन, नेतृत्व चयन र चुनावी प्रक्रिया सिकाउन यसो गरिएको विद्यालयका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले जानकारी दिए ।
चारवटा सदनका लागि विद्यार्थीले उम्मेदवारी दिन्छन् र निर्वाचित हुन्छन् । अभ्यासका क्रममा वास्तविक निर्वाचनमा जेजस्तो गरिन्छ सोही प्रक्रिया अपनाइने गरेको उनले बताए । विद्यार्थीले नामावली प्रकाशन, उम्मेदवारी दर्ता, मतदान चिह्न प्रदान, मौन अवधि, मतगणना, नतिजा घोषणा, शपथग्रहणलगायत प्रक्रिया पालना गरे । ‘निर्वाचन प्रणाली, यसको महत्व सिकाउन र बुझाउन यस्तो अभ्यास गराउँछौँ, जो चुनाव जितेको छ उसले एक वर्ष आफ्नो हाउसमा लिडरसिपको काम गर्छ,’ प्रधानाध्यापक भण्डारीले भने, ‘यसबाट उनीहरूले चुनाव कति महत्वपूर्ण रहेछ र नेतृत्व कसरी चयन हुनेरहेछ भनेर प्रत्यक्ष महसुस गर्छन् ।’
मतदान कार्यक्रमका लागि निर्वाचन आयोगसमेत गठन गरिएको थियो । विद्यालयको चारवटा सदनका उम्मेदवारले मत माग्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने, मौन अवधिको पालना गर्नेलगायत नियम पालना गरेका थिए । मतदान प्रक्रियाबाट सदनका लागि कप्तान, छात्र उपकप्तान र छात्रा उपकप्तानका लागि एक–एकजना विद्यार्थी चयन गरिएको छ ।