Skip This
बाबु–नानी हो नथाल न भन्दाभन्दै सुरु गरे, धुर्मुस–सुन्तलीले बहुत दु:ख पाए
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३१ बुधबार o६:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाबु–नानी हो नथाल न भन्दाभन्दै सुरु गरे, धुर्मुस–सुन्तलीले बहुत दु:ख पाए

आफैँले उद्घाटन गरेको गौतमबुद्ध रंगशाला निर्माण अभियानबारे ओलीको फेरिएको बोली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o६:५१:oo

करिब सात वर्षअघि आफैँले उद्घाटन गरेको गौतमबुद्ध रंगशाला निर्माण अभियानबारे प्रधानमन्त्री केपी शर्मा ओलीको बोली फेरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा ‘सिनेपा’ चलचित्र छायांकन स्टुडियोको मंगलबार शिलान्यास गर्दै ओलीले त्यतिवेला गाह्रो छ भन्दाभन्दै धुर्मुस–सुन्तलीले क्रिकेट मैदान निर्माण सुरु गरेर दुःख पाएको दाबी गरेका हुन् ।

‘मैले गाह्रो छ, बाबु–नानी हो त्यहाँ नथाल न भन्दाभन्दै धुर्मुस–सुन्तलीले क्रिकेट मैदान सुरु गरे । बहुत दुःख पाए । माया लाग्छ । तर, त्यो क्रिकेट मैदान पनि बन्छ, उनीहरूको दुःख, कष्ट पनि हट्छ एक दिन । मैले त यहीँ दुःख पाइन्छ भनेर नगर्नु भनेको थिएँ । यति ठुलो काम आँटियो, एकदुईटा सानातिना काममा साथीभाइ बहुत हौसिन्छन्, हामी छौँ भन्छन्,’ ओलीले भने । 

१६ माघ ०७५ मा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा तत्कालीन प्रधानमन्त्री ओलीले नै उक्त रंगशाला निर्माण अभियानको सुरुवात गरेका थिए । ओलीसहित तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका तत्कालीन महामन्त्री डा. शशांक कोइराला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसमेत सहभागी कार्यक्रममा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने सम्झौता गरेका थिए । 

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० बिघा ६ कट्ठा जमिनमा रंगशाला निर्माण गर्ने सम्झौतापत्रमा भरतपुरकी मेयर रेणु दाहाल र फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले हस्ताक्षर गरेका थिए । बिचैमा धुर्मुस–सुन्तलीले हात उठाएपछि संघ र प्रदेश सरकारको सहकार्यमा भरतपुर महानगरपालिकाले अपनत्व लिई रंगशाला निर्माण अघि बढाएको छ । 

बनेपामा स्टुडियो, बालुवाटारबाट शिलान्यास
प्रधानमन्त्री केपी ओलीले काभ्रेको बनेपामा निर्माण हुने ‘सिनेपा’ स्टुडियोको शिलान्यास प्रधानमन्त्रीनिवास बालुवाटारबाट गरेका छन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त सुविधासम्पन्न स्टुडियोमा चलचित्र छायांकन हुनेछ । बनेपामै शिलान्यास गर्नुपर्नेमा सूर्यविनायक–बनेपा–धुलिखेल सडकखण्डका कारण बालुवाटारबाट शिलान्यास गर्नुपरेको बताइएको छ ।

‘बनेपामै शिलान्यास गर्नुपर्ने थियो । अस्तव्यस्त सूर्यविनायक–बनेपा–धुलिखेल सडक खण्डका कारण बालुवाटारमै कार्यक्रम गरियो ।’ शिलान्यास कार्यक्रममा बालुवाटार पुगेका एक अधिकारीले भने । काभ्रेपलाञ्चोक हुँदै पूर्व जोड्ने सूर्यविनायक–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार गर्न थालेको डेढ वर्ष भयो । ०७९ मंसिरमा निर्माण सुरु भएको आयोजना ३६ महिनामा अर्थात् आगामी चैतसम्म सक्नुपर्ने सम्झौता छ ।