Skip This
सगरमाथा संवादको तयारी पूरा, विदेशबाट शीर्ष प्रतिनिधिमण्डल नआउने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३१ बुधबार o६:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सगरमाथा संवादको तयारी पूरा, विदेशबाट शीर्ष प्रतिनिधिमण्डल नआउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o६:४७:oo

सरकारले २ देखि ४ जेठसम्म आयोजना गरेको सगरमाथा संवादका लागि छिमेकी भारत र चीनबाट शीर्ष प्रतिनिधिमण्डल नआउने भएका छन् । कार्यक्रममा सहभागी हुन नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ प्रधानमन्त्री ली छ्याङ, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस तथा विभिन्न देशका सरकार प्रमुख÷राष्ट्र प्रमुखलाई निमन्त्रणा गरेको थियो । तर, कुनै पनि देशबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखको स्तरबाट सहभागिता नहुने भएको छ । 

भारतबाट वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भूपेन्द्र यादव तथा चीनबाट नेसनल पिपुल्स कंग्रेस (राष्ट्रिय जनकंग्रेस)का उपाध्यक्ष स्याओ जी सहभागी हुने तय भएको छ । जी नै सगरमाथा संवादमा विदेशबाट आउने सबैभन्दा वरिष्ठ अधिकारी हुनेछन् । उनीसँग चारजना चिनियाँ जनकंग्रेसका अधिकारी तथा ११ जना कर्मचारी बिहीबार काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

सगरमाथा संवाद व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार भारतीय मन्त्री र चिनियाँ जनकंग्रेस उपाध्यक्षबाहेक विदेशबाट जम्मा चारजना मन्त्री र चारजना उपमन्त्री आउनेछन् । सरकारी अधिकारी, विज्ञसहित विदेशबाट १७५ जना आउनेछन् भने नेपालीसमेत ३५० जना सगरमाथा संवादमा सहभागी हुनेछन् ।

कार्यक्रममा अजरबैजानकी प्राकृतिक स्रोतसम्बन्धी मन्त्री तथा कोप–२९ की अध्यक्ष मुख्तार बाबायेभ, बंगलादेशकी समाजकल्याण, महिला तथा बालबालिकासम्बन्धी अन्तरिम मन्त्री सर्मिन सोनेया मुर्सिद, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छेरिङ, माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम आउने तय भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार जापानका संसदीय मामिलासम्बन्धी उपविदेशमन्त्री इकुइना अकिको, संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जा मामिला हेर्ने सहायक विदेशमन्त्री अब्दुल्लाह बलाला, बेलायतकी संसदीय उपविदेशमन्त्री ब्यारोनेस सुसान हेमन, कतारका जलवायु परिवर्तनसम्बन्धी उपमन्त्री एवं विशेष दूत बदर उमर अल दाफा, किर्गिजस्तानका राष्ट्रपतिका विशेष प्रतिनिधि, पर्वतीय क्षेत्र विकासका लागि पाँच वर्षको कार्ययोजना कार्यान्वयन हेर्ने अधिकारी दिनारा केमेलोभा सहभागी हुनेछन् । 

ओमानकी राजदूत इस्सा बिन सालेह अल सिवानी, ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोग, इजिप्टका राजदूत नोहा हम्दी अहमद एलगेबाली, सार्कका महासचिव गोलम सरवर, विमस्टेकका महासचिव इन्द्रमणि पाण्डे, संयुक्त राष्ट्रसंघकी नेपाल प्रतिनिधि हाना सिंगर हम्दी, विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रायसर, एसियाली विकास बैंक (एडिबी)का क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिन सहभागी हुनेछन् । श्रीलंका र पाकिस्तानबाट हुने प्रतिनिधित्व सुनिश्चित भएको छैन । अमेरिकाबाट राजदूतबाहेक सहभागी हुने प्रतितिनिधि टुंगिएको छैन । ‘विकास सहायता संस्था, विश्वविद्यालय, थिंक ट्यांक, अनुसन्धान तथा शोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी र दर्जनौँ स्वदेशी संगठन एवं संस्थाहरूले पनि यस संवादमा भाग लिनुहुनेछ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘उहाँहरूको देशले उपयुक्त ठानेका व्यक्तिहरू सगरमाथा संवादका लागि आउँदै हुनुहुन्छ । विषय जानेकाहरूको राम्रो सहभागिता हुनेछ ।’ 

सगरमाथा संवादको मूल विषय जलवायु परिवर्तन, हिमाल तथा मानवताको भविष्य राखिएको छ । ‘मानव जगत्का विभिन्न समस्या र मुद्दामा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ,’ राणाले भनिन् । उनले संवादको तयारी अन्तिम चरणमा पुगेको बताइन् । ‘हामीले तयारीका विभिन्न चरण गरेका छौँ । पूर्वतयारीका दशवटा कार्यक्रम सम्पन्न भइसकेका छन्,’ उनले भनिन् । 

सगरमाथा संवाद २ जेठमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि भारतीय र चिनियाँ प्रतिनिधिमण्डलका नेता, अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले उद्घाटन सत्रमा सम्बोधन गर्नेछन् । विभिन्न सत्रमा जलवायु परिवर्तनले पारेका प्रभाववारे विस्तृतमा छलफल हुनेछ । संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई विषयगत सत्रमा सम्बोधन गर्ने अवसर दिइने उनले बताइन् ।