Skip This
महिना दिनमै भित्रियो एक खर्ब ३९ अर्ब रेमिट्यान्स
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format o७:४१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिना दिनमै भित्रियो एक खर्ब ३९ अर्ब रेमिट्यान्स

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४१:oo

चालू आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १० खर्ब ८२ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यस अवधिमा भने ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । चैत महिनामा मात्रै एक खर्ब ३९ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चैत मसान्तसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विषयक प्रतिवेदनले यस्तो देखाएको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या बढ्दै गएपछि उनीहरूमार्फत आउने रेमिट्यान्स बढ्दै गएको देखिन्छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ५८ हजार दुई सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६ सय ५२ छ । गत आवको यसै अवधिमा यस्तो संख्या क्रमशः तीन लाख २७ हजार आठ सय ४२ र दुई लाख ११ हजार दुई सय २६ थियो ।

पछिल्लो तथ्यांकले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो देखाए पनि आन्तरिक अर्थतन्त्रमा पर्याप्त सुधार आउन सकेको छैन ।
  सुमन न्यौपाने, सहायक प्रवक्ता, नेपाल राष्ट्र बैंक

 मुद्रास्फीति ३.३९ प्रतिशत
वस्तु तथा सेवाको माग संकुचित रहेका वेला मुद्रास्फीति भने न्यून विन्दुमा छ । चैत महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । गत आवको चैतमा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत थियो । तरकारीलगायतका खाद्यवस्तुको मूल्य घट्दा समग्रमा मूल्यवृद्धि दर कम देखिएको राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपाने बताउँछन् । 

प्रदेशगत रूपमा कोशी प्रदेशमा मूल्यवृद्धि दर सबैभन्दा उच्च छ । चैतमा उक्त प्रदेशमा प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत छ । सबैभन्दा कम मुद्रास्फीति भने बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशको यस्तो मुद्रास्फीति २.८० प्रतिशत छ । यसैगरी, मधेश प्रदेशको ३.५९ प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशतको मुद्रास्फीति रहेको छ । यसैगरी, समीक्षा महिनामा काठमाडौं उपत्यकाको २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत मुद्रास्फीति छ ।

 तीन खर्ब ३६ अर्बले बचतमा शोधनान्तर 
समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले शोधनान्तर बचतमा थियो । बढ्दो रेमिट्यान्सले शोधनान्तर बचतमा सकारात्मक प्रभाव पारेको राष्ट्र बैंकको भनाइ छ ।

पर्यटनमार्फत पनि आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइरहँदा मुलुकको सेवा खाता भने लगातार ५९ महिनादेखि घाटामा छ । चालू आर्थिक वर्ष ०८१/८२ को चैत मसान्तसम्मको तथ्यांकअनुसार अहिले पनि सेवा खाता ८१ अर्ब ५४ करोड रुपैयाँले घाटामा छ । चैत मसान्तसम्म आउँदा विदेशी सञ्चिति थप बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । सञ्चिति १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । 

 कर्जा प्रवाह बढ्यो 
लामो समयदेखि सुस्त रहेको निजी क्षेत्रतर्फको कर्जा प्रवाह समीक्षा अवधिमा भने बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड रुपैयाँ अर्थात् ७.१ प्रतिशत बढेको छ । गत आवमा यसै अवधिमा कर्जा प्रवाह दुई खर्ब २२ अर्ब २१ करोड रुपैयाँ अर्थात् ४.६ प्रतिशतले बढेको थियो । आयात बढ्नेलगायतका आर्थिक गतिविधि बढ्न थालेपछि कर्जा प्रवाह बढेको देखिन्छ । राष्ट्र बैंकका सहायक प्रवक्ता न्यौपानेले निजी क्षेत्रतर्फ जान कर्जामा बढेको बताए । ‘यो वर्ष १२.५ प्रतिशतले कर्जा प्रवाह बढ्ने अनुमान गरिएकोमा हालसम्म ७.१ प्रतिशतले कर्जा प्रवाह बढेको देखिन्छ । विगतको तुलनामा यसमा सुधार आएको छ,’ उनले बताए ।