
गेटवे एकेडेमी र डिएभी स्कुल ‘ए’ले जयकुमारनाथ शाह मेमोरियल यू–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार तल्लो मूलपानी क्रिकेट मैदान गेटवेले मोक्षदा स्कुललाई १३१ रन ले हरायो । माथिल्लो मैदानमा डिएभीले साबिक विजेता सैनिक आवासीय महाविद्यालयलाई ६ विकेटले निराश बनाउँदै फाइनलमा स्थान बनाएको हो ।
सोमबार उपाधि भिडन्त हुने आयोजक काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी गराए । उनका अनुसार २१ स्कुलले भाग लिएको यो प्रतियोगिताका आधारमा नेपाल क्रिकेट संघ (क्यान)ले यू–१६ टोली छनोट गर्नेछ । यसअघि गेटवेले अपि स्कुल र मोक्षदाले नेपाल पुलिस स्कुललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
डिएभीले एन्जल्स हार्ट नेसनल स्कुल तथा सैनिकले ग्यालेक्सी पब्लिक स्कुललाई पराजित गरेका हुन् । टस जितेर ब्याटिङ गरेको गेटवेले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा मोक्षदाले १२.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र ७४ रन बनायो ।