१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
रासस जेनेभा
२o८२ बैशाख २८ आइतबार १९:o४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

जेनेभामा चीनसँगको व्यापार वार्ता रचनात्मक : ट्रम्प

Read Time : > 1 मिनेट
रासस, जेनेभा
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १९:o४:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक कर कटौतीका कारण उत्पन्न व्यापार तनाव कम गर्ने उद्देश्यले अमेरिका र चीनका उच्च अधिकारीबिच आइतबार दोस्रो दिन पनि वार्ता भएको स्विस सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रिर र चीनका उपप्रधानमन्त्री हे लिफेङबिच आइतबार दोस्रो दिन बिहान १० बजे (स्थानीय समय)पछि बन्द कोठामा वार्ता भएको स्विस किस्टोन–एटिएस समाचार एजेन्सीले जनाएको छ।

जेनेभामा शनिबार पहिलो दिनको वार्तापछि आफ्नै लगानीमा खोलिएको राष्ट्रपति ट्रम्पको ट्रुथ सोसल पोस्टमा ट्रम्पले  ‘धेरै राम्रो’ भएको भन्दै छलफलको प्रशंसा गरेका थिए। उनले वार्तालाई ‘मैत्रीपूर्ण तर रचनात्मक तरिकाले पूर्ण रूपमा पुनः स्थापित’ गरिएको बताएका छन्।

यसअघि, चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि स्विट्जरल्याण्डमा भएको वार्तालाई ‘मुद्दाको समाधानका लागि महत्वपूर्ण कदम’ भनेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक रूपमा कर वृद्धि गरेपछि बेइजिङको कडा प्रतिशोधका कारण उत्पन्न व्यापार युद्धलाई कम गर्न अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूबिच शनिबारदेखि जेनेभामा बैठक सुरु भएको थियो।

गत महिना ट्रम्पले चीनमाथि नयाँ कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबिच जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि स्विट्जरल्याण्डका राजदूतको निवासमा शनिबार मध्याह्नदेखि सुरु भएको बन्द कोठाको छलफल आइतबार पनि जारी रहने बताइएको थियो।

ट्रम्पले यस वर्षको सुरुदेखि नै चीनमाथि लगाएको कर हाल १४५ प्रतिशत रहेको छ भने केही चिनियाँ सामानमा अमेरिकी कर २४५ प्रतिशत पुगेको छ। त्यसको बदलामा चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ, जसले विश्वका दुई ठुला अर्थतन्त्रबिचको व्यापार प्रतिबन्धलाई थप मजबुत बनाएको छ।

ट्रम्पले शुक्रबार चिनियाँ आयातमा उच्च कर घटाउन सक्ने संकेत दिँदै सामाजिक सञ्जालमार्फत ‘चीनमाथि ८० प्रतिशत कर लगाउनु सही देखिन्छ’ भनेका थिए। ‘राष्ट्रपति ट्रम्प चीनसँग मिलेर काम गर्न चाहनुहुन्छ, उहाँ स्थितिलाई कम गर्न चाहनुहुन्छ।’ अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले फक्स न्युजसँगको कुराकानीमा शुक्रबार भनेका थिए।

वार्ताबारे बोल्दै ट्रम्पकी प्रेस सचिव कारोलिन लिभिटले अमेरिकाले एकतर्फी रूपमा कर नघटाउने स्पष्ट पार्दै चीनले पनि सहुलियत दिनुपर्ने बताएकी  थिइन्। 

‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का वरिष्ठ सल्लाहकार बिल रेन्सले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध राम्रो नभएको उल्लेख गरेका छन्।
‘हामीसँग व्यापार–निषेधात्मक शुल्कहरू दुवै दिशामा जाँदै छन्’, अमेरिकी सरकारको अमेरिका–चीन आर्थिक तथा सुरक्षा पुनरावलोकन आयोगका पूर्व सदस्य रहेका रेन्सले भने, ‘सम्बन्ध बिग्रँदै गएको छ। तर यो बैठक राम्रो संकेत हो।’

‘चाइना युरोप इन्टरनेसनल बिजनेस स्कूल’मा अर्थशास्त्र र वित्तका प्राध्यापक शु बिनले एएफपीसँग भने, ‘मलाई लाग्छ, यो मूलतः दुवै पक्षले कुराकानी गरिरहेका छन् भन्ने देखाउनका लागि हो र यो आफैँमा धेरै महत्त्वपूर्ण छ।’