
नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ कार्यसमिति नेतृत्वमा निरञ्जन अधिकारी निर्वाचित भएका छन्।
बिहीबार काठमाडौंमा भएको २०औँ चुनावी साधारणसभाबाट अधिकारी निर्वाचित भएका हुन्। उनी ४५ मतसहित अध्यक्षमा निर्वाचित भए। उनका प्रतिद्वन्दी प्रकाश तिमल्सिनाले ३५ मत प्राप्त गरे।
यस्तै, प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी सर्वसम्मत चयन भएका छन्।
यसैगरी, महासचिवमा अन्जन खड्का ५१ मतसहित निर्वाचित भए। महासचिव पदका अर्का उम्मेदवार राजु घिसिङले २९ मत पाए।
सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भएका छन्। उनले ५१ मत पाउँदा अर्का उम्मेदवार गोविन्दराज नेपालले २८ मत पाए।
तीन पुरुष सदस्यमा रमेश सुवेदी, अभिनव जोशी र कविरथ शर्मा निर्वाचित भए। सर्वाधिक मत पाउने उम्मेदवार बनेका सुवेदीले ५७ मत पाए। कविराज शर्माले ५४ र अभिनव जोशीले ३९ मत पाए। सदस्य पदका अरू दुई उम्मेदवार विनय ज्योति सापकोटा र भूपेश उपाध्यायले क्रमशः २८ र ३१ मत पाए। महिला सदस्यमा नमिता दाहाल सर्वसम्मत भइन्।