
मकवानपुर प्रहरीले हेटौँडाबाट नेपाली रुपैयाँ ५०० दरका १८६ थान नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गंगा-जमुना गाउँपालिका–२ घर भई हाल हेटौँडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन्।
उनलाई गएराति सवा १ बजेको समयमा पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटेबाट पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। अर्यालका अनुसार बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा अधिकारीलाई नक्कली नोटसहित पक्राउ गरी नियन्त्रणमा लिइएको हो।
प्रवक्ता अर्यालका अनुसार प्रहरी चौकी रातोमाटेमा खटिएको प्रहरी टोलीले शंका लागेपछि उनको शरीर र झोला जाँच गर्दा झोलाभित्र लुकाएर राखिएको अवस्थामा ५०० दरका १८६ थान (९३ हजारबराबर) नक्कली नोट फेला परेको हो।
अधिकारीलाई पक्राउ गरी मुद्रासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालले बताए। उनले मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए।