
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरूले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् ।
राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरूले बिचौलिया भन्दै आएको उनको भनाइ थियो ।
पुनले विनालगानी अर्थोपार्जन गर्नेहरू बिचौलिया भएको स्पष्ट गर्दै लगानी गरेर व्यवसाय गर्नेहरूले व्यवसायीलाई नै बिचौलिया आरोपित गरिएको अर्थमा नबुझ्न आग्रह गरे । बिचौलिया प्रवृत्ति रोक्न नसके मुलुकले आर्थिक रूपमा अझै नराम्रो अवस्थाको सामना गर्नुपर्नेमा पुनले जोड दिए ।
‘हामीले विनालगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौँ,’ पुनले भने, ‘कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौँ । यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन ।’
पुनले निजी क्षेत्रलाई चालक सिटमा राखेर सरकारले काम गर्नुपर्ने उल्लेख गरे । रेफ्रीको भूमिकामा रहनुपर्ने नियामक निकायहरू आफैँ खेलाडी बनेर मैदानमा उत्रिने अहिलेको प्रवृत्तिले अर्थतन्त्रलाई नोक्सान गर्ने भएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए । पुनले कार्यक्रममा सहभागी अर्थमन्त्री विष्णु पौडेललाई करका दर हेरफेरमा हुने चलखेल रोक्न आग्रह गरे । अर्थमन्त्रीका रूपमा चालू आर्थिक वर्षको बजेट निर्माण गर्दा आफूले कसैलाई फाइदा र कसैलाई नोक्सान हुने गरी करका दरमा हेरफेर नगरेको प्रस्टीकरण पुनले दिए । ‘चालू आर्थिक वर्षको बजेट बनाउँदै गर्दा मैले कुनै अमूक व्यापारिक घरानालाई फाइदा र कसैलाई घाटा हुने गरी करका दर हेरफेर गरिनँ । यो कुरा म आज पनि सबै व्यवसायीका अगाडि आँखामा आँखा जुधाएर भन्न सक्छु,’ पुनले भने, ‘अहिलेका अर्थमन्त्रीलाई पनि म कसैको दबाबमा नपरी त्यसै गर्न सुझाव दिन चाहन्छु ।’