१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २५ बिहीबार १६:o८:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

नेपालयको दुईदिने पुस्तक मेला : पुस्तकमा ६० प्रतिशतसम्म छुट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १६:o८:oo

पब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्ने भएको छ। यही वैशाख २७ र २८ गते हुने दुईदिने मेलामा नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ। मेलामा लेखकहरूसित भेटघाट र पुस्तकमा हस्ताक्षर पनि हुने बताइएको छ।

‘हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो,’ पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद अनुभव दिने तयारीमा छौँ।’

पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने मास्केले बताइन्। उनले भनिन्, ‘लेखकसित भेटघाट, कुराकानी गर्ने मौकामा सहभागी हुन कुनै शुल्क लाग्दैन, पुस्तक ६० प्रतिशतसम्म छुटमा किन्न सकिन्छ।’

दुईदिने पुस्तक मेलाको आरम्भ जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’बाट हुनेछ। शनिबार बिहान ९ बजे पुस्तक मेला स्थलमा उक्त पुस्तक लोकार्पण हुनेछ।

पुस्तक मेलाको समापन काव्य अनुष्ठानबाट हुनेछ। नेपालयले तीन वर्षदेखि ई–कविता शीर्षकमा हरेक साता एक कविता प्रसारण गर्छ। थुप्रैडटकममा पैसा तिरेर कविता सुन्न सकिन्छ। त्यहाँ प्रसारित ई–कवि र नेपालयबाट काव्य कृति प्रकाशित कवि गरेर १५ जनाले कविता पाठ गर्ने कवि श्रवण मुकारुङले बताए।

ई–कविता संयोजन गर्दै आएका कवि मुकारुङले नै काव्य अनुष्ठान संयोजन र सञ्चालन गर्दै छन्। नेपालयले सन् २०२५ को नयाँ वर्षका दिन ‘२०२५ मा २५ का २५’ शीर्षकमा नयाँ पुस्ताका कथा, कविता, निबन्ध आह्वान गरेको थियो। ‘हामीलाई धेरै रचना प्राप्त भएका छन् । ती युवा लेखक र केहीबाट पुस्तक लेखन–प्रकाशन प्रक्रियाबारे धेरै जिज्ञासा आउने हुँदा हामीले पुस्तक मेलामा ती जिज्ञासा सम्बोधन गर्ने प्रयास पनि गर्नेछौँ,’ नेपालयका सम्पादक विमल आचार्यले भने।