
कञ्चनपुरको कृष्णपुर नगरपालिका– २, वनहराका मुक्त कमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगरमा तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन्। बगरमा एक सयभन्दा बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्त कमैया परिवारले पूर्वपश्चिम राजमार्गनजिक टहरा नै बनाएका छन् । यी टहराबाट उनीहरूले तरबुजालगायत फल बिक्री गर्दै आएका छन् । साँझ–बिहान राजमार्गमा निकै भिडभाड हुने गरेको छ । यो भिड तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकको हो ।
६ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्गछेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताए । तरबुजालगायत फल बिक्री गरेर दैनिक रु. दुई हजारदेखि रु. तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको उनले बताए । वैशाखदेखि असारसम्म रु. तीन लाखदेखि रु. पाँच लाखसम्मको कारोबार हुने गरेको उनले जानकारी दिए । ‘बढी उत्पादन गर्ने परिवारले बढी आम्दानी गर्छन्,’ उनले भने, ‘थोरै उत्पादन गर्नेको थोरै आम्दानी हुन्छ ।’ १५ वर्षदेखि बगरखेतीमा संलग्न बिरा रानाले बगरमा उत्पादन भएको लौका, तरबुजा बिक्री गरिसकेपछि पुनर्स्थापना गरिँदा पाइएको जग्गामा पनि खेती गरेकाले तीन महिना सडकमा बसेर तरबुजाको कारोबार गर्दै आएको बताइन् ।
‘कमैया मुक्तिको घोषणापछि वनहरा नदीछेउको जग्गामा पुनर्स्थापना गरिँदा घर निर्माण र खेतीका लागि १० कट्ठा जग्गा उपलब्ध गराइएको थियो,’ उनले भनिन्, ‘जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ । अन्य नदी बगरमा तरबुजा, काँक्रो रोपेको देख्यौँ, हामीले पनि सिक्यौँ, त्यसपछि मजदुरी गर्न छाडेर यसमै भविष्यका सपना बुन्न थाल्यौँ, तरबुजा फलेका छन् । यो खेतीलाई निरन्तरता दिँदै आएका छौँ,’ उनले भनिन् । घरखर्च सहज रूपमा चलेकाले अरूसँग ऋण लिनुपर्ने अवस्था अन्त्य भएको उनी बताउँछिन् । राजमार्गछेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आएकी छन् । ‘बिहान विद्यालय जान्छु,’ उनले भनिन्, ‘त्यसवेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु ।’
टहरामा बसेर तरबुजा बेचेर आउने आम्दानीको केही हिस्सा घरखर्चका लागि राखेर अरू पैसा विद्यालयमा आवश्यक पर्ने पोसाक, कापी कलमलगायतमा खर्च हुने गरेको उनले उल्लेख गरिन्। वनहरा मुक्त कमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्गछेउमा तरबुजालगायत बिक्री गर्दै आएकी छन्। वनहरा नदीको बगरमा उनले १० कट्ठा जग्गामा तरबुजाखेती गरेकी छिन्। ‘वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न सुरु गरेका हौँ,’ उनले भनिन्, ‘अहिलेसम्म ६५ हजारभन्दा बढीको बिक्री गरिसकेका छौँ ।’ उनका अनुसार प्रतिकिलो तरबुजा ३० देखि ४० सम्ममा बिक्री हुने गरेको छ ।
बिउबिजन र रासायनिक मलमा गरेर रु. ३० देखि ४० हजार तरबुजाखेतीमा खर्च भएको थेग्रा राना बताउँछन् । रानाले बर्सेनि रु. पाँच लाखभन्दा बढी मुनाफा आर्जन गर्दै आएको बताए । उनले यो महिनामा २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसकेका छन्। ‘बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा साजसब्जी साँझ नपर्दै सकिन्छ,’ नन्दलाल रानाले भने, ‘बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्ने गरेका छन् । अरू क्षेत्रमा बेच्न लैजाँदा ढुवानी खर्च लाग्छ, निकै श्रम गर्नुपर्छ, घरनजिकैको राजमार्गमा सहजै बिक्री हुने भएपछि त्यहीँ टहरा बसेर बेच्ने गरेका छौँ,’ उनले भने ।
पहिले इँटाभट्टामा काम गर्दै आएका तौला राना बगरखेतीबाट मनग्य आम्दानी हुने थाहा पाएपछि मजदुरी गर्न छाडेर तरबुजाको खेतीमा संलग्न भएको बताउँछन्। वनहराबाहेक अन्य क्षेत्रका व्यापारीलाई भने त्यस क्षेत्रमा तरबुजा बेच्न भने नपाइने नियम मुक्त कमैयाले बनाएका छन्। तरबुजा खरिद गर्न राजमार्गछेउ पुगेका अमरपुरका अमरबहादुर ऐर वनहराका तरबुजा रसिला हुने हुँदा प्रत्येक वर्ष खरिद गरेर लैजाने गरेको बताउँछन् । ‘अरू ठाउँको भन्दा यहाँका तरबुजा मीठा र सस्ता छन् । त्यसैले हामी तरबुजा खरिद गर्न हरेक वर्ष यहाँ आउँछौँ,’ उनले भने ।