१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Sunday, 11 May, 2025
२o८२ बैशाख २५ बिहीबार o८:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला गोल्डकप : बलियो एपिएफलाई रोक्ने पुलिसको रणनीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार o८:१६:oo

०७९ देखि अपराजित एपिएफको चार महिनाभित्र लगातार छैटौँपटक उपाधि जित्ने योजना 

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि उचाल्ने दाबी गरेका छन् । फाइनल बिहीबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालामा हुँदै छ । बुधबार भएको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरे । एपिएफका प्रशिक्षक जिवेशकुमार पाण्डेले पुलिस राम्रो टिम भएको बताउँदै उपाधि भने एपिएफले नै जित्ने बताए । ‘हामी भोलिको खेलमा अट्याकिङ फुटबलमै ध्यान दिएर खेल्छौँ । हामीले लगातार फाइनल जितिरहेकाले यहाँ पनि जित्ने दबाब छ,’ उनले भने, ‘यो खेलको दबाब भने होइन । उपाधि जित्ने दबाब हो, त्यसकारण उपाधि जित्छौँ ।’ एपिएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकाले आफूहरूमा केही थकानमा भएको बताइन् । तर, उपाधि जित्ने सवालमा भने कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । कप्तान अनिताले फाइनललाई फाइनलजस्तै बनाउँदै उपाधि जित्ने दाबी गरिन् । 

यता पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले एपिएफ तुलनात्मक रूपमा बलियो टिम भए पनि प्रतिस्पर्धामा उत्रने बताए । उनले एपिएफमा राष्ट्रिय खेलाडी बाहुल्य रहेको बताउँदै एपिएफ बलियो भए पनि यसपटक आफूहरूले जित्ने गरी खेल्ने दाबी गरे । यसपटक सबै खेलाडी शारीरिक रूपमा फिट रहेको उनको भनाइ छ । ‘यसपटक एपिएफलाई रोक्छौँ । हामीसँग त्यो रणनीति पनि छ,’ उनले भने, ‘खेलाडीहरू पनि फिट छन्् । र अघिल्ला दुई खेलमा खेलाडीले गरेको प्रदर्शनले पनि एकखालको हौसला मिलेको छ ।’ यस्तै पुलिसकी कप्तान निरुता थापाले उपाधि जित्ने गरी आफूहरू मैदान उत्रने बताइन् । 

दुवै टोलीको गोल वर्षा 

दुवै टोली अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन् । आफ्ना विपक्षीविरुद्ध दुवै टोलीले गोलको वर्षा गरेका थिए । प्रतियोगितामा पुलिसले बलियो रौतहटलाई ४–२ र चितवनलाई ७–० को फराकिलो अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । यस्तै, राष्ट्रिय टोलीका एक दर्जनभन्दा बढी खेलाडी समावेश गरेको एपिएफले वीरगन्जलाई १२–० र संकटालाई २–० ले हराउँदै फाइनलमा स्थान बनायो । प्रतियोगिताको विजेताले सात लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर दिइनछे । अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

अपराजित एपिएफको यात्रा
जारी सिजनमा एपिएफ र पुलिसबिच चौथोपटक फाइनलमा भेट भएको हो । जसमा एपिएफले पुलिसलाई निराश बनाउँदै उपाधि उचालेको थियो । अघिल्लो साता मात्रै मात्रै नुवाकोटमा भएको बागमती गोल्डकप र नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा एपिएफले पुलिसलाई समान १–० ले हराएको थियो । पुलिसले खेलभर एपिएफलाई रोके पनि इन्जुरी समयमा गोल व्यहोरेको थियो । यता, इलाम र चितवनमा भएको गोल्डकपमा भने एपिएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । त्यसअघि भएको राष्ट्रिय महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई नै हराउँदै उपाधि उचालेको हो । ०७९ यता एपिएफ घरेलु फुटबलमा अपराजित छ । 

हामी उपाधि जित्छौँ : जीवेशकुमार पाण्डे, प्रशिक्षक, एपिएफ
पुलिसविरुद्ध अट्याकिङ फुटबलमै ध्यान दिएर खेल्छौँ । हामीले लगातार फाइनल जितिरहेकाले यहाँ पनि जित्न दबाब छ । खेलको दबाब भने होइन् । उपाधि जित्ने दबाब हो, त्यसकारण उपाधि जित्छौँ । खेलाडीको मनोबल पनि उच्च छ । पुलिसले पछिल्लो समय राम्रो खेलिरहेको छ । हामी आफ्नो स्वाभाविक खेल खेलेर जित्छौँ ।

यसपटक एपिएफलाई रोक्छौँ : भोलानाथ सिलवाल, प्रशिक्षक, नेपाल पुलिस क्लब 
यसपटक एपिएफलाई उपाधि उचाल्न रोक्छौँ । हामीसँग त्यो रणनीति पनि छ । एपिएफसँग उत्कृष्ट खेलाडी छन् । हामीसँग पनि उत्कृष्ट खेलाडी छन् । युवा खेलाडीले राम्रो खेलेका छन् । सबै खेलाडी फिट छन् । अघिल्ला दुई खेलमा खेलाडीले गरेको प्रदर्शनले पनि एकखालको हौसला मिलेको छ । यसपटक एपिएफलाई रोक्छौँ ।