
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले आवश्यक सहयोग नगरेको गुनासो गरेका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा उनले सिंगापुर, अमेरिका र युरोपलगायतका मुलुकमा लुकाइएको भ्रष्टाचारबाट आर्जित सम्पत्ति नेपाल ल्याउन सम्बन्धित देश (दोस्रो पक्ष) सहमत भए पनि सरकारले चासो नदिएको बताएका हुन् ।
‘हामीले अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउन सक्ने अवस्था छैन । यसमा तपाईंहरू (सांसद)ले सहयोग गर्नुप¥यो,’ प्रमुख आयुक्त राईले समितिमा भने, ‘सिंगापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन ।’ यसका लागि पारस्परिक कानुनी सहायता सन्धिको आवश्यकता पर्ने भए पनि त्यसका लागि सरकारले कुनै चासो दिएको छैन । त्यही विषयमा प्रमुख आयुक्तले असन्तुष्टि व्यक्त गरेका हुन् । अख्तियारको वार्षिक प्रतिवेदनमा पनि सरकारलाई विभिन्न देशसँग कानुनी सहायता सन्धि गर्न सुझाव दिँदै आएको छ ।
तर, सरकारले हालसम्म कुनै पनि देशसँग कानुनी सहायता सन्धि गरेको छैन । चीनसँग यससम्बन्धी सम्झौतामा हस्ताक्षर भए पनि कार्यान्वयन हुन सकेको छैन ।
प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको पनि बताए । भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको संख्या उल्लेख्य मात्रामा रहेको दाबी उनको छ । उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता ल्याउन आवश्यक भएको बताए । यसका लागि सरकारले कार्यदल गठन गरे पनि काम नभइरहेको राईको भनाइ छ । भ्रष्टाचार र अनियमितताको ठुलो सञ्जालमाथि अनुसन्धान गरिएको समितिमा उनले सुनाए ।
राईका अनुसार भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको छ । ‘उपल्लो तहको मान्छेको लागि त बयान लिएको कर्मचारीले प्रमाणसहित भन्नुप¥यो नि,’ उनले भने, ‘तर, उहाँहरू कोही नामसम्म लिन चाहनुहन्न ।’
अख्तियारको अनुसन्धान प्रक्रियामा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी प्रमुख आयुक्तको छ । आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउन/नचलाउन दबाब नआएको उनको भनाइ छ ।
‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि कुनै पनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन,’ उनले भने । ठुला माछा (आरोपित) हरूलाई मुद्दा लागेन भन्ने कुरा ५/१० वर्षदेखि चली नै रहेको छ । तर, कस्तालाई ठुला माछा र कस्तालाई साना माछा भन्ने के ? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठुलो नेक्सस भएको मान्छे लग्यौँ जस्तो लाग्छ ।’ सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा त अख्तियारले कायापलट नै गरिदिएको दाबी प्रमुख आयुक्त राईको छ ।