
बागमती प्रदेश सरकारले पर्यटन विकास आयोजनासहितका कार्यलयहरू खारेज गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले २ वटा पर्यटन विकास आयोजना र दुईवटा पर्यटन कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौं खारेज गर्ने निर्णय गरेको हो ।
बैठकले उपत्यका पर्यटन कार्यालय काठमाडौं र पर्यटन कार्यालय चितवनलाई खारेज गर्ने निर्णय गरेको हो । अस्थायी संरचनाको रूपका रहेका उक्त कार्यालयहरू खारेज गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त मन्त्रालयको संगठन संरचना तेरिज स्वीकृत गर्दै उक्त कार्यालयहरू खारेज गर्ने निर्णय गरेको हो ।
बैठकले उक्त कार्यालयहरूको विकल्पमा स्थायी संरचनाको रूपमा पर्यटन कार्यालयहरू स्थापना गरेको छ ।
बैठकले प्रदेश राजधानी हेटौँडामा मन्त्रालय र एक कार्यलाय रहने व्यवस्था गरेको छ भने अन्य चार जिल्लाहरूमा कार्यालय राख्ने निर्णय गरेको हो । बैठकले हेटौँडासहित नुवाकोट, दोलखा, चितवन र काठमाडौंमा पर्यटन कार्यालय खडा गर्ने निर्णय गरेको छ ।
बैठकले प्रशासनका कर्मचारी प्रमुख रहने गरी मन्त्रालय र मातहतका निकायमा साबिकको ११७ जनाको दरबन्दीलाई घटाएर १०६ कायम गरेको हो । यसअघि दुईवटा आयोजनामा प्राविधिकतर्फका इन्जिनियर वा वन अधिकृत प्रमुख रने व्यवस्था रहेको थियो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कम्प्युटर अप्रेटर (सहायक पाँचौँ–अधिकृत छैटौँ)लाई प्रशासनिक कर्मचारीको रूपमा प्रयोग गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।