१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format १४:५६:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रावासावा कला पुरस्कार चाम्लिङ तथा साहित्य पुरस्कार परियारलाई प्रदान गर्ने घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

रावासावा प्राज्ञिक समाज नेपालले विभिन्न क्षेत्रमा क्रियाशील रहेर जिल्ला तथा देशका लागि योगदान गर्ने खोटाङका दुईजना व्यक्तिलाई पुरस्कृत तथा चारजनालाई सम्मान गर्ने भएको छ ।

आगामी असोज पहिलो साता काठमाडौंमा आयोजना हुने रावासावा प्राज्ञिक समाजको १२औँ साधारणसभा तथा सातौँ अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर साहित्य, कला, संगीत, शिक्षा, समाजसेवा र सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने खोटाङका दुईजना व्यक्तिलाई पुरस्कृत तथा चारजनालाई सम्मान गर्ने घोषणा गरेको हो । 

यस वर्षको ‘रावासावा पुरस्कार– २०८२’ वरिष्ठ गीतकार एवं कवि टीका चाम्लिङ र हास्यकलाकार एवं साहित्यकार गोकुल परियारलाई प्रदान गरिने आयोजकले जनाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलाका वरिष्ठ संगीतकार एवं कवि चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार– २०८२’ र खोटेहाङ गाउँपालिका– ८ सिम्पानीका हास्यकलाकार एवं साहित्यकार परियारलाई ‘रावासावा कमलाभक्त साहित्य पुरस्कार– २०८२’ प्रदान गर्ने निर्णय गरिएको प्राज्ञिक समाजका अध्यक्ष एवं साहित्यकार बम बानियाँ ‘तरंग’ले जानकारी दिए । 

पुरस्कृत हुनुहुने दुवैजना स्रष्टालाई जनही रु. २५–२५ हजारका दरले नगद पुरस्कारको साथमा दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै, ‘रावासावा सम्मान– २०८२’ बाट जन्तेढुंगा वरिष्ठ सञ्चारकर्मी एवं अधिकारकर्मी बबिता बस्नेत, नुनथलाका उद्यमी, व्यवसायी एवं समाजसेवी तेजबहादुर राई, लफ्याङका वरिष्ठ अधिवक्ता एवं समाजसेवी देवराज कटवाल र पाथेकाकी समाजसेवी एवं सामाजिक अभियान्ता गंगा राई ‘कान्छी’लाई सम्मान गर्ने निर्णय गरिएको महासचिव भरत लिमेलमगरले जानकारी दिए । सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने आयोजकले डिजिटल प्लेटफम जुम (विद्युतीय माध्यम)मार्फत पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 

रावासावा प्राज्ञिक समाजको साधारणसभा तथा अधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा साहित्यकार, कवि तथा लेखकहरूको पुस्तक लोकार्पण, प्राज्ञिक बहस, अनुसन्धानमूलक जर्नल प्रकाशन तथा छलफललगायतका विभिन्न कार्यक्रमसमेत राखिएको जनाइएको छ । दश स्थानीय तह रहेको खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाखोला र दक्षिणी क्षेत्रमा पर्ने सावाखोलाको नामबाट स्थापना गरिएको प्राज्ञिक संस्था ‘रावासावा प्राज्ञिक समाज’ले दुई–दुई वर्षमा साहित्य, कला, संगीत, शिक्षा, समाजसेवा र सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । 

समाजको छैटौँ अधिवेशनमा कवि तथा साहित्यकार देवेन्द्र खेरेस र लेखक प्रह्लाद पोखरेललाई सम्मान तथा साहित्यकार पञ्चकुमारी परियार र गीतकार खुक्सन खम्बूलाई पुरस्कृत गरेको थियो । यसअघि जनही नगद रु. २०–२० हजारका दरले प्रदान गर्दै आइएको पुरस्कार राशि यस वर्षबाट वृद्धि गरेर जनही रु. २५–२५ हजार रहेको आयोजकले जनाएको छ ।

०६५ असार १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आधिकारिक रूपमा दर्ता गरेर स्थापना गरिएको रावासावा प्राज्ञिक समाजले साहित्य, कला, संगीत, शिक्षा, समाजसेवा र सञ्चार क्षेत्रमा प्राज्ञिक काम गर्दै आएको छ । डा. विष्णु राई संस्थापक अध्यक्ष रहेको प्राज्ञिक समाजमा खोटाङमा जन्मिएर काठमाडौंलाई कार्यक्षेत्र बनाएर विभिन्न विद्यामा क्रियाशील प्राज्ञहरू आबद्ध छन् ।