
माध्यमिक विद्यालय तहको कक्षा १२ को यस वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।
त्यसैगरी, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिए ।
यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदै छन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।
यसैबिच, काठमाडौं तारकेश्वर नगरपालिका– १० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छिन् । उनी तारकेश्वर– ११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् ।
प्रवेशपत्रमा उनको जन्म वि.सं. २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीकी आमा तथा तीन जना नातिनातिनीकी हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् । उनले एसइई परीक्षा भने गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनका श्रीमान् विद्यालयका शिक्षक हुन् । रासस