
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आफैँले ढालेको रुखमा च्यापिएर घाइते भएका एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका– ७, सुकौरामा डेरा गरी बस्ने मोरङको मिक्लाजुङ गाउँपालिका– १ का ३१ वर्षीय राम राई रहेका छन्।
उनको उपचारको क्रममा बिहीबार दिउँसो हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा मृत्यु भएको हो। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार गाउँघरमा पाएअनुसारका काम गर्दै हिँड्ने गरेका राई स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा रुखले च्यापेर घाइते भएका थिए।
उनलाई सँगै बस्दै आएका साथी सुजन राईले उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा ल्याएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।
यसअघि १५ गते आइतबार पनि मकवानपुरको बागमती गाउँपालिका– ३ देउजोरस्थित सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा रुखले च्यापिएर इलामको इलाम नगरपालिका– ९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको थियो।