
प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तुत गरेको छ। उसो त नेपालले वन संरक्षण गर्न समुदायलाई नै हस्तान्तरण गर्ने नीति अर्थात् सामुदायिक वनको अवधारणालाई विश्वका कैयौँ देशले अनुशरण गरेका छन्।
प्रकृति र वन्यजन्तु संरक्षणमा वन तथा वातारण मन्त्रालय, नेपाली सेना र स्थानीयवासीको सामूहिक सहकार्य, समन्वय र प्रयासले गर्दा विश्वमै लोपोन्मुखको सूचीमा रहेको पाटेबाघ, एकसिंगे गैँडा, बाह्रसिंगाजस्ता जंगली जनावरको संख्या पछिल्लो एक दशकभित्रै दोब्बर भएकाे छ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने, ‘संसारमै लोपोन्मुखको सूचीमा रहेका पाटेबाघ, एकसिंगे गैँडा, बाह्रसिंगाजस्ता जनावरको संख्या पछिल्लो एक दशकभित्रै दोब्बर पुर्याउन सफल भएका छौँ। यो हाम्रो लागि ऐतिहासिक उपलब्धि हो। साझेदारी र सहकार्यमार्फत प्रकृति र वन्यजन्तु संरक्षण गरिँदा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदोरहेछ भन्ने यो गतिलो सिकाइ हो।’
उनका अनुसार सेनाले ‘वन र वन्यजन्तु सबैका लागि’ भन्ने नाराका साथ प्रकृति संरक्षणमा वन तथा वातावरण मन्त्रालय र स्थानीयवासीसँग सहकार्य गरेको ५० वर्ष भएको छ। वि.सं. २०३२ मा तत्कालीन सरकारले सेनालाई प्रकृति संरक्षण गर्न सुरक्षाको जिम्मेवारी दिएको थियो।
यस अवधिमा सेना, राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती व्यवस्थापन समितिबिचको सहकार्य प्रकृति र वन्यजन्तु संरक्षणका क्षेत्रमा नमुना साबित भएको छ। उनले भने, ‘निजामती प्रशासन र सैनिकबिच राष्ट्रिय निकुञ्जको बजेट, योजना, कार्यक्रम, रणनीतिका लागि भइरहेको सहयोग, समन्वय र सहकार्यबाट नै राष्ट्रिय निकुञ्जमा लक्ष्य प्राप्तिमा सफलता मिलेको छ। अन्य क्षेत्रमा यो विरलै छ।’
पहिलो राष्ट्रिय निकुञ्जका रूपमा वि.सं. २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको हो। यद्यपि, वि.सं. २०१८ देखि सेनाबाट गैँडा गस्ती सुरु गरिएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ र मन्त्रिपरिषदबाट वि.सं. २०६७ मा पारित स्थायी कार्य सञ्चालन विधिमा राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको सुरक्षाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनेछ भन्ने उल्लेख भएअनुसार निकुञ्जको सुरक्षामा सेनालाई तैनाथी गरिएको हो।
हाल त्यस्ता २० संरक्षित क्षेत्र ३३ जिल्लामा फैलिएको र त्यसको सुरक्षाका लागि सेनाका आठ गण, सात अनाश्रित गुल्म र एक प्रकृति शिक्षालय गरी करिब आठ हजार सुरक्षा फौज तैनाथ रहेको जनाइएको छ।
त्यसक्रममा प्रकृति संरक्षण कार्यमा तैनाथ भएपश्चात् सेनाका ११६ जना सकल दर्जाले वीरगति प्राप्त गरेका नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयले जनाएको छ। मानव र वन्यजन्तु द्वन्द्वका कारण चालू आर्थिक वर्षमा मात्र विभिन्न जंगली जनावरको आक्रमणमा परी २१ जनाको मृत्यु हुनका साथै ५४ जना घाइते भएकामा नेपाली सेनाका सकल दर्जाका संख्या आठ छ। त्यस्ता संरक्षित क्षेत्रले मुलुकको कुल भूभागको २३.३९ अर्थात् ३४ हजार ३२४ वर्गकिलोमिटर क्षेत्र ओगटेको छ।
वन तथा वातावरण मन्त्रालयक अनुसार चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लामटाङ, शिवपरी–नागार्जुन, सगरमाथा, बाँके, मकालु–बरुण, शुक्लाफाँटा र से–फोक्सुन्डाे राष्ट्रिय निकुञ्ज छन् भने, कोशी टप्पु वन्यजन्तु र ढोरपाटन सिकार आरक्षण क्षेत्रका रूपमा छ। त्यस्तै, संरक्षण क्षेत्रका रूपमा अन्नपूर्ण, कञ्चनजंघा, मनास्लु, कृष्णसार, अपिनप्पा, गौरीशंकर आरक्षण क्षेत्र हुन् भने चितवन, बर्दिया,से–फोक्सुन्डाे, खप्तड, रारा, लामटाङ, शिवपुरी नार्गाजुन, बाँके, मकालुबरुण, शुक्लाफाँटा, कोशी टप्पु, सगरमाथा र पर्सा गरी १३ मध्यवर्ती क्षेत्रका रूपमा छन्।
सेना संरक्षित क्षेत्रभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा, सरकारी कार्यालय तथा अन्य भौतिक पूर्वाधारको संरक्षण र सुरक्षामा सेना अहोरात्र खटिएको छ। सेनाले निकुञ्जको सुरक्षा र चोरी सिकारी नियन्त्रण गर्न छोटो, मध्यम र लामो दूरीका गस्ती, एम्बुस, सर्च एन्ड स्विपसहित चेतनामूलक कार्य गर्दै आएको छ।
त्यस क्रममा १८ हजार ६३० जनालाई जनचेतनामूलक तालिम प्रदान गरिएको सेनाले जानकारी दिएको छ। निकुञ्ज तथा आरक्षण क्षेत्रको धरातलीय अवस्था र स्थान विशेषका आधारमा सवरीसाधन, हात्ती, डुंगा, साइकल, मोटरसाइकल र अरू साधनबाट सेनाले गस्ती गर्दैआएको छ। चालू आर्थिक वर्षमा सेनाले गस्तीका क्रममा ११ थान हतियार, एक हजार ४६७ पासो, एक हजार ५६५ घरेलु औजार, २५२ सवारीसाधन र १० वटा आखेटोपहार बरामद गरेको छ।
निकुञ्ज तथा आरण क्षेत्रको प्रभावकारी सुरक्षाका लागि विभिन्न समयमा ‘हन्ट’ र ‘महाहन्ट’जस्ता अभियान सञ्चालन गर्दैआएको छ। सोही क्रममा ठिक समयमा असरदार गस्ती, प्रभावकारी दृष्टि, सिसिक्यामेरा, स्पाई क्यामेरा, ड्रोन र भेइकल ट्र्याकिङसमेत सञ्चालन गरिएको छ। नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पहल र प्रयासको परिणामस्वरूप केही दशकभित्रै लोपोन्मुख वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
सन् २००९ मा १२१ को संख्यामा रहेको पाटेबाघ सन् २०२२ मा आइपुग्दा ३५५ भएको छ। त्यस्तै, सन् २००५ मा चार सयको संख्यामा रहेको एकसिंगे गैँडा हा ७५२ संख्यामा पुगेको छ। नेपालमा हात्तीको संख्या १२० भन्दामाथि छ भने हिउँचितुवा ३९७ र अर्ना ४४१ रहेको अनुमान गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज : शून्य चोरी सिकार
यसैबिच, अहिले चितवन राष्ट्रिय निकुञ्ज ५२९ दिनदेखि शून्य चोरी सिकारीको अभ्यासमा रहेको त्यहाँ तैनाथ नयाँ गोरखनाथ गणका गणपति शिवराम बस्नेतले जानकारी दिए। तीन प्रदेशका चार जिल्ला फैलिएको चितवन ९५२ वर्गकिलोमिटरमा फैलिएको छ भने त्यसको बफर जोन ७२९.३७ वर्गकिलोमिटर छ।
त्यस क्षेत्रमा नेपाल–भारत सीमास्तम्भ सातवटा जंगेसहित २७ वटा रहेको छ। चितवनमा हालसम्म १८ वटा युनिट तैनाथ रहेको छ। त्यसका लागि अहिले आठ सय जनशक्तिले ६० वटा आउट पोस्टमार्फत कार्य जिम्मेवारी सम्हालिरहेको छ। त्यहाँ तैनाथ रहेका सेनाले गत वैशाख १० देखि यो वर्षको वैशाख १५ गतेसम्म ८४ हजार ६०६ पटक सञ्चालन गरेको गस्तीमा १० लाख ९६ हजार ९५२ किलाेमिटर दूरीको यात्रा भएको थियो। त्यसमा तीन लाख ५२ हजार ८० जना व्यक्ति गस्तीमा सहभागी भएको नयाँ गोरखनाथ गण कसरा ब्यारेकले जानकारी दिएको छ। हाल दैनिक २१५ भन्दा बढी गस्ती हुने गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाका लागि काठका २८, पक्की १४ र जीर्ण मचान नाैवटा छन्। हालसम्म प्रकृति संरक्षणका दौरानमा सो निकुञ्जमा मात्र सेनाका ४४ जना सकल दर्जाले वीरगति प्राप्त गरेका छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत घाँसेमैदानसहित दुर्लभ वन्यजन्तुको उल्लेखनीय विविधता रहेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्ती र गैँडा तथा गोही प्रजनन केन्द्रको अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटक बाक्लो रूपमा आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए। बाघको सुरक्षा, वासस्थान व्यवस्थापन र आहरा प्रजातिको उपलब्धताका आधारमा चितवन राष्ट्रिय निकुञ्ज सन् २०१५ मा बाघ पाइने देशमध्ये पहिलो राष्ट्रिय निकुञ्जका रूपमा पुरस्कृत भएको उनले जानकारी दिए । जैविक विविधताका हिसाबले चिनवन राष्ट्रिय निकुञ्जमा ४० भन्दा बढी प्राकृतिक ताल, रिउ, राप्ती र नारायणी नदी प्रणाली र वन तथा घाँसेमैदानका विभिन्न प्रकार छन्।
कसरा, माडी, सौराहा र अमलटारीबिचमा रहेको यस निकुञ्ज क्षेत्रमा १२८ वटा बाघ, ४५ हात्ती, ३८८ चौँरीगाई, ६९४ घडियाल गोही, स्तनधारी ७०, चरा ५४६, सरीसृप र उभयचर ४९ माछा १२० प्रजातिका पाइन्ने पनि जानकारी दिइयो।
यस क्षेत्रका सुरक्षाका लागि नेपाली सेनाका १७, निकुञ्ज र सेनाका संयुक्त ३४ र निकुञ्जका कर्मचारी मात्र रहने नौसमेत गरी ६० वटा सुरक्षा पोस्ट रहेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जले वासस्थान संरक्षण र व्यवस्थापन, प्रजाति संरक्षण, चोरी सिकारी नियन्त्रण, अध्ययन, अनुसन्धान र अनुगमन, मध्यवर्ती क्षेत्र व्यवस्थापन, संरक्षण शिक्षा प्रदान, पर्यापर्यटन व्यवस्थापन, सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ।
चालू आर्थिक वर्षको चैत महिनासम्ममा निकुञ्जको अवलोकन र भ्रमणका लागि ९२ हजार ८९० नेपाली, १६ हजार ७९८ सार्क मुलुक तथा ७२ हजार ५३९ जना विदेशी यहाँ आएको पनि निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जले यस अवधिमा करिब २३ करोड ६४ लाख ९९ हजार राजस्व संकलन गरेको छ।
सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषकाका प्रमुख राजकुमार गुरुङले कोषले निकुञ्जलाई सहयोग र वन्यजन्तु उद्धारलाई मूल लक्ष्य राखेर काम गरिरहेको जानकारी दिए। उनले भने, ‘कोषले निकुञ्ज क्षेत्रमा पाइने प्राणी तथा जीवजन्तु संकलन गरी वि.सं. २०५० देखि म्युजियम सञ्चालन गर्दैआएका छाैँ। वार्षिक रूपमा त्यसको अवलोकन गर्न आउनेको संख्या करिब ५० हजारको हाराहारीमा छ।’
नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका महासेनानी अजय गुरुङ र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले पछिल्ला दिनमा मुख्य चुनौती भनेको निकुञ्जवरपरको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबिच द्वन्दको न्यूनीकरण तथा प्रकृति र वातावरण संरक्षणको प्रभावकारी संरक्षणलाई प्राथमिकता दिएर काम गरिहेको बताए।
महासेनानी गुरुङले पर्यटन विकास, स्थानीयको रोजीरोटी र जीविकोपार्जनमा पर्ने सक्ने असरको विषय पनि जोडिएकाले त्यस पाटोमा पनि ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए। प्रकृति संरक्षणजस्तो पवित्र कार्यले नेपालमा मात्र नभएर विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान हुनकासाथै नेपालमा दिगो पर्या–पर्यटनमासमेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ।
हिमाल सफाइ अभियान
यसैबिच, पछिल्ला वर्षमा सेनाले प्रत्येक वर्ष हाम्रा अनुपम हिमालको सौन्दर्यलाई कायम राख्न सफा हिमाल अभियान सञ्चालन गर्दैआएको छ। नेपालमा हिमालको दृश्यावलोकन तथा आरोहणका लागि वार्षिक औसत ५४ हजार पर्यटक तथा ८० हजारको संख्यामा सहयोगी त्यस क्षेत्रको भ्रमण गर्दैआएको तथ्यांक छ।
हिमाली क्षेत्र जलवायु परिवर्तनको असरका हिसाबले अत्यन्त संवेदनशील र विश्व तामक्रम वृद्धिको पहिलो प्रभावित क्षेत्र हो। हिमाली क्षेत्रमा हाल १५ हजारदेखि ३० हजार फोहोर तथा तीन सयदेखि चार सयको संख्यामा मृत मानव शरीर भएको अनुमान गरिएको छ। नेपालको हिमाली क्षेत्र करिब दुई अर्ब मानिसको पानीको स्रोत मानिँदै आएको छ।
सेनाको अगुवाइमा सन् २०१९ बाट सगरमाथा र ल्होत्सेको सफाइ अभियान सुरु गरिएकोमा हालसम्म पुमरी, मकालु, धौलागिरि, आमदब्लम, कञ्चनजंघा, अन्नपूर्ण, मनास्लु, बरुन्चेहुँदै हालसम्म नुप्सेसम्म पुगको छ। त्यो अभियान हिमाल र हिमाली क्षेत्रको सफाइ, दिगो पर्या–पर्यटनमा टेवा तथा जिम्मेवार पर्वतारोहणको विश्वव्यापी सन्देशका लागि भएको सेनाले जनाएको छ।
हालसम्म हिमाल सफाइ अभियानमा सेनाका ११५ र शेर्पा १८० जना परिचालन भई १२ वटा शव र चार मानव अस्थिपञ्जरसहित कुइने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलो फोहोर संकलन भइसकेको छ। रासस