१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १६ मंगलबार १३:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोषणभत्ता वृद्धि गर्न सरकारलाई सांसदहरूको सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार १३:२२:oo

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले बालबालिकालाई दिँदै आएको पोषणभत्ता वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । 

सांसद रञ्जुकुमारी झाले बालबालिकाको पोषणभत्ता वृद्धि हुने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिइन् । 

सांसद माधव सापकोटाले  सिन्धुपाल्चोक जुगल गाउँपालिका– २ गुम्बास्थित बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बानुर्बु तामाङलाई  आन्दोलनका क्रममा हातपात भएको भन्दै आपत्ति जनाए । 

सांसद महेश बस्नेतले इलाममा चिया उत्पादन गर्न किसानले युरिया मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले किसानलाई किबीको उचित मूल्य उपलब्ध गराउन सरकारसँग माग गरे । 

सांसद मीना तामाङ र मैना कार्कीले शिक्षकका समस्या समयमै वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिए । सांसद मेनकाकुमारी पोखरेलले अभिभावकविहीन बालबालिकाका लागि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गर्न माग गरिन् । 

सांसद योगेन्द्र मण्डलले शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्नेमा जोड दिइन् । सांसद रणकुमारी बलम्पाकी मगरले बालबालिकाको भविष्यसँग खेलबाड गर्न नहुने भन्दै शिक्षक आन्दोलन बन्द गरेर समाधानको बाटो खोज्न सुझाव दिइन् । 

सांसद रणेन्द्र बराइलीले कर्मचारीले सर्वसाधारणलाई हैरानी दिने प्रवृत्ति नरोकिएको भन्दै आपत्ति जनाए। सांसद रमा कोइराला पौडेलले विद्युत् प्राधिकरणका कर्मचारीको गैरजिम्मेवारीले  सर्वसाधारणको जीवन जोखिममा परेको बताइन्। 

सांसद राजेन्द्रकुमार केसीले पूर्वाधार विकासका काम वातावरणमैत्री हुन नसक्दा खानेपानीका मुहान जोखिममा रहेको बताए। सांसद राजेन्द्रकुमार राईले बजेट अभावले ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद रामहरि खतिवडाले गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गरे । 

यसैगरी, सांसदहरू रामकुमार राई, रामकिशोर यादव, रूपा सोशी (चौधरी), रेखा शर्मा, लेखनाथ दाहाल, बिजुला रायमाझी र रोशन कार्कीले शिक्षकहरुसँग वार्ता गर्न ढिला गर्न नहुने बताए ।