१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o६:oo
Read Time : > 2 मिनेट
सप्तरंग डिजिटल संस्करण

संगीता प्रधानको अविस्मरणीय पलेँटी साँझ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

सन् २००७ मा पलेँटीमा पहिलोपटक गीत सुनाएकी संगीता प्रधानले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छिन्। झन्डै दुई घण्टासम्म चलेको पलेँटीमा संगीताले दर्जनभन्दा बढी सिर्जना प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको सुरुवात खयाल गायनबाट भएको थियो । राग ‘रागेश्री’को विलम्वित लयमा संगीता आफैँले सिर्जना गरेको बन्दिस (गीत) ‘सब सुख दिय‘’ प्रस्तुत भएको थियो । एकतालबाट सुरु भएको रागले मध्यलय प्रवेश गर्दा दर्शक, श्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो । तीन तालमा रहेको मध्यलयको बन्दिस ‘उनी उनी रहिछौ किन हो संगिनी’ कविवर माधव घिमिरेको शब्द सिर्जना थियो ।

कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भएका थिए । पहिलो ठुमरी राग ‘माझ-खमाज’मा आधारित थियो । यसपालिको पलेँटीको मुख्य आकर्षण ठुमरीलाई नेपाली भाषामा प्रस्तुत गरिनु थियो । लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील संगीतालाई ‘ब्रजभाषा’ र हिन्दीमा मात्र होइन, आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि लागेको रहेछ ।

त्यो इच्छालाई आंशिक रूपमा भए पनि यसपालि पूरा गरेकी छिन् । यस काममा उनलाई पलेँटी संयोजक आभासले सहयोग गरेका छन् । आभासले माझ खमाजमा रहेको ठुमरीको बोल- ‘झर्झर बर्खा ऋतु आयो’ र राग पहाडीमा आधारित दादराका निम्ति ‘मौन बसी बित्यो रात’ लेखेका हुन् । त्यस्तै, पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य ‘कठिन समयमा, एक मेरो घनश्याम’ गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो ।

पलेँटी कार्यक्रमको तेस्रो चरणमा भने संगीताले आफ्ना नयाँ–पुराना नेपाली आधुनिक गीत प्रस्तुत गरेकी थिइन् । गीति चरणको सुरुवातमा गीतकार कालीप्रसाद रिजालका दुईवटा गीत प्रस्तुत भएका थिए । पहिलो प्रस्तुतिमा ‘कुन पापीले कुन निष्ठुरीले’ रहेको थियो । जसलाई संगीतकार गुरुदेव कामतले धुन भरेका थिए । गुरुदेवले भरेको धुन नेपाली आधुनिकमा बिरलै सुनिने शैलीको गीत थियो । ‘राग माण्ड’मा आधारित यो गीत ठुमरी शैलीकै गीत थियो । कालीप्रसादको दोस्रो रचना- ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ’लाई संगीतकार आभासले धुन भरेका थिए । यो गीत पलेँटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो ।

त्यस्तै अर्को गीत- ‘जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?’ शान्ति ठटालको नयाँ धुन संगीताको स्वरमा गुञ्जिएको थियो । शान्ति ठटालको धुनमा रत्नशमशेर थापाको सिर्जना ‘तिर्सना छल्किन्छ’ र मन्जित तामाङकाे ‘मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ’ गाउँदा संगीता प्रधानको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो । 

कार्यक्रमा संगीताले आफू काठमाडौं आउँदाका क्षणहरू सम्झँदै र विभिन्न संस्मरण सुनाउँदै गीत गाएकी थिएन् । त्यही क्रममा उनले संगीतकार नातिकाजीसँग आफ्ना पहिलो गुरु संगीतकार मानवीर सिंहले गराइदिएको भेट सम्झँदै ‘आँगनमा आज मेरा प्रियतम आए’ सुनाएकी थिइन् । निर्मोही व्यासको शब्द सिर्जना रहेको यो गीत संगीताले रेडियो नेपालमा गाएको पहिलो चरणको गीत हो ।

कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङले धुन भरेको कवि मञ्जुलको रचना ‘एकान्तमा फूल फुल्छ कि म फुल्छु’लाई अत्यधिक रुचाइएको थियो । फर्माइसमा दोहोरिएको यो गीत अमृतले आजभन्दा १८ वर्ष पहिले संगीता प्रधानकै पलेँटीका निम्ति धुन भरेका थिए ।

संगीताले कार्यक्रममा आरती नेवाको शब्दमा रहेको ‘किन हो हजुरलाई आफ्नै भनिदिन मन लाग्छ’ गाउँदा संगीतकार मानवीर सिंहलाई श्रद्धापूर्वक शब्दाञ्जली अर्पण गरेकी थिइन् ।

कार्यक्रमको अन्त्य भइसक्दा पनि दर्शकहरू आसनमै स्थिर देखिन्थे । पलेँटी हेरेर बाहिरिँदै गरेका शेषनारायणको प्रतिक्रिया थियो, ‘शास्त्रीय संगीत र आधुनिकको संगम गज्जबै सुनिँदो रहेछ; पलेँटी नहुँदा न्यास्रिएका थियौँ । आज त्यो नियास्रो मेटियो ।’ सँगै उभिएका पंकज नेपाल भन्दै थिए, ‘नेपालीमा ठुमरी क्या गजब सुनिने रै’छ ।’

पलेँटीमा बारम्बार आइपुग्ने जर्मन संगीतप्रेमी रेनाटे साम्बोकको प्रतिक्रिया थियो, ‘मैले पहिले पनि यो कार्यक्रम हेरेको छु। मलाई नेपाली गीत मनपर्छ, तर नेपाली नारीले गाएको हेरेको यो मेरो पहिलो कन्सर्ट हो । ‘सी ह्याज सच् अ बोल्ड यान्ड ब्युटिफुल भोइस !’ पलेँटी कार्यक्रम हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आर शालामा हुने गर्छ।