
पछिल्लो समय निरन्तर घटेको अन्डाको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अन्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु. ५२५ सम्म पुगेको अन्डाको मूल्य घटेर रु. ३५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर रु. ४५० पुगेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुने गरी ठुलो अन्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु. ४३०, मध्यमको रु. ३८० र ‘एक्सएल’को रु. ४५० कायम गरिएको छ । यसअघि ठुलो अन्डाको मूल्य रु. ३५० मा झरेको थियो । संघको शनिबार सम्पन्न छलफलले अन्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए।
एक्सएल अन्डाकाे फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु. तीन हजार १४०, ठुलो अन्डा रु. तीन हजार र मझौलाको रु. दुई हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए। नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा रु. १६.५६ पर्न आउँछ । अन्डाको मूल्य उच्च हुँदा ठुलो अन्डा प्रतिपेटी रु. तीन हजार ६७५ सम्म पुगेको थियो ।
सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अन्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उनी भन्छन्, ‘गर्मीका कारण अन्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अन्डाको मूल्य बढेको हो ।’ उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।
संघका सचिव मदन पोखरेलका अनुसार अन्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । ‘अहिलेको अवस्थालाई हेर्दा अन्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,’ उनले, ‘अन्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएको छ ।’ नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।
मूल्य बढ्दा किसानलाई फाइदा भए पनि ग्राहक भने महँगीको मारमा परेका छन्।