१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख १३ शनिबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन् : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार १६:५९:oo

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेकाे टिप्पणी गरेका छन्।

नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’ मा केन्द्रित हुन दलका सांसदहरूलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

‘सरकार बांगिसक्यो। शेरबहादुरजी थाइल्यान्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए। मैले त भ्रम फिँजाउनेहरूका पछाडि नलाग्नुस्। आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ। शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरू फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो। त्यसकारण एउटै कुराको जवाफ धेरैपटक खोज्नतिर हामी लाग्नुहुँदैन,’ ओलीले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ। हामी सबैको ध्यान त्यसमा केन्द्रित छ। हल्लाको पछाडि कोही लाग्नुपर्दैन।’

प्रतिगमनकारीहरूले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिँदै संसदीय दलका नेता नेता ओलीले अवाञ्छित गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताए।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरूको आशामा नभई आफैँले गर्नतिर लाग्नुपर्ने बताए।

एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रूपमा रूपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए।

उनले पार्टी दस्तबेजहरूको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए।