Skip This
उषा चम्किएपछि पुलिस सडनडेथमा विजयी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
रमेश सुवेदी नेपालगंज
२o८२ बैशाख ९ मंगलबार १९:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उषा चम्किएपछि पुलिस सडनडेथमा विजयी

Read Time : > 1 मिनेट
रमेश सुवेदी, नेपालगंज
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १९:oo:oo

गोलकिपर उषा नाथ चक्किएपछि विभागीय टोली नेपाल पुलिस क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार बाँकेको नेपालगंज रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुलिसले आर्मीलाई सडनडेथमा हरायो। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउट पनि ४–४ को भएपछि खेल सडनडेथमा पुग्यो। कूल ९–९ पेनाल्टी प्रहार भएको खेलमा पुलिस विजयी भयो।

तीन पेनाल्टी बचाएकी पुलिसकी उषा नाथ नै खेलको प्लेयर अफ दि म्याच घोषित भइन्। उनले पाँच हजार प्राप्त गरिन्। पुलिसको लागि रेविका पाण्डे, गोलकिपर उषा नाथ, निरु थापा, सुस्मा तामाङ, अनुस्का शेर्पा र अमृता जैशीले गोल गरे। मोनिका पुलामी मगर र मिना देउवाको प्रहार भने २१ वर्षीय गोलकिपर कोपिला खड्काले बचाएकी थिइन्। समिक्षा घिमिरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

आर्मीको लागि तुलसा बोहरा, हिमा चौधरी, सपना लामा र सुखरिया सुख्खुले गोल गरेका थिए। अञ्जली वाइवा, सुनिता चौधरी र इन्दिरा राईको प्रहार भने पुलिसकी गोलकिपर उषा नाथले रोकेकी हुन्। चन्द्रा भण्डारीको प्रहार बाहिरिएको थियो।

अब, उपाधिका लागि पुलिसले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र रौतहट फुटबल संघबीचको विजेतासँग १२ गते खेल्नेछ। एपिएफ र रौतहटको खेल बुधबार हुनेछ।

यसअघि पुलिसले खेलमा अग्रता बनाएको थियो। २८औं मिनेटमा मीना देउवाले गोल गरिन्। अमृता जैशीको फ्रिकिक प्रहार गोलकिपर कोपिला खड्काले फुत्काएपछि गोल लाइनबाट हुलमुलमा मिनाले गोल गरेकी हुन्।

अन्तिम १० मिनेट पुलिस खेलमा सम्हालिन नसक्दा बराबरीमा पुगेको थियो। आर्मीको लागि ८०औं मिनेटमा तुलसा बोहराले गोल गरिन्। वैकल्पिक खेलाडी तुलसाले सिधै फ्रिकिकमा गोल गरेकी हुन्। सहारा लिम्बूले १८ यार्डअघि हातले बल छोएपछि आर्मीले फ्रिकिक अवसर पाएको थियो।

यसअघि समूह ‘ए’मा रहेको पुलिसले भारतको सिलुगरी एफसीलाई ४–० र आर्मीले पनि सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले नै हराएको थियो। प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई ६–० ले हराएको हो।

आठ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन्।

पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी भएका थिए। यसअघि पहिलो चरणबाटै आयोजक बाँकेसँगै सुदूरपश्चिम प्रदेश, कर्णाली र भारतको सिलिगुरी एफसी बाहिरिसकेका छन्।