
नेपाललाई रविजा सन्दारुवानको अर्धशतकसँगै कुवेतले चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्याे ।
कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मित भवसरले १६ र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए ।
तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई तथा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए ।
प्रतियोगितामा अपराजित रहेको नेपाल पाँच अंकसहित फाइनलमा पुगेको हो । नेपालले दुई खेल जितेको थियो । आयोजक हङकङसँगको खेल वर्षाका कारण रद्द भयो।
नेपालसँग पराजित कुवेतले अन्य दुई टोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।