
भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आज बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिंगाे उठाइएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिंगाे आज विधिपूर्वक पूजा गरी उठाइएको हो ।
बिस्केट जात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिंगाे जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ । कुमाले टोलमा बिहान लिंगाे उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिंगाे उठाउने गरिन्छ ।
यसलाई विश्वप्रसिद्ध लिंगाे जात्रा भन्ने गरिन्छ । यो लिंगाे भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ । यता मध्यपुरथिमि– ८ बोडेस्थित महालक्ष्मी मन्दिरअगाडि पनि आज बिहान लिंगाे उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरूसमेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिअगाडि लिंगाे उठाएका हुन् ।
तान्त्रिकविधि पूरा गरी बिहान स्थानीयले लिंगाे उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवत रूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए ।
‘महालक्ष्मी मन्दिरअगाडि लिंगाे उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिरअगाडि लिंगाे उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ,’ उनले भने । यहाँ आज नै कुमारीको रथ लहीटोलमा पुर्याइन्छ भने राति करिब ९ बजे नीलबाराही जंगलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजनवांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्नेछन् ।
आज व्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले केही खान नहुने, महिलासँग बोल्न तथा छुन नहुने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने चलन छ । मध्यपुर थिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्य रूपमा मनाउने गरेका छन् । रासस