
आज बिहान परेको हल्का पानीले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारी आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रुबिच सडकमा अलपत्र परेका छन् ।
हिजोदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गरिएको भए पनि आज भने बाटो चिप्लो भएपछि बिहान ९ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो।
त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।