
जिल्लामा लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध तीनमहिने अभियान चलिरहेका वेला प्रहरीले सिराहाका विभिन्न ठाउँबाट कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित आठजनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी खिरौना र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा २२ र २३ चैतमा गरेको चेकजाँचको क्रममा छुट्टाछुट्टै ठाउँबाट ब्राउनसुगरसहित आठजनालाई पक्राउ गरेको हो। सोमबार सिराहा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
छिमेकी मुलुक भारतको सीमावर्ती बजार जयनगरबाट बा. प्र. ०२–०३२ प ५१३१ नम्बरको पल्सर मोटरसाइकल चढेर आउँदै गरेका सिन्धुलीको दुधौली नगरपालिका– १० का करिब २४ वर्षीय प्रवीण बुढाथोकी र करिब २२ वर्षीय श्रवण कुमाललाई चेकजाँच गर्दा प्लास्टिकबाहेक दुई ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
पासवानका अनुसार जयनगरबाट म.प्र. ०१–००५ प २०३१ नम्बरको मोटरसाइकलमा सिराहातर्फ आउँदै गरेका मिर्चैया नगरपालिका– ८ का करिब १९ वर्षीय सुशान्त पञ्जियार र मिर्चैया– ५ का करिब २० वर्षीय विजय महतोलाई पनि चेकजाँच गर्दा प्लास्टिकसहित ०.९२ ग्राम खैरो हेरोइन बरामद भएको छ।
त्यस्तै, माडर–लहान रुटको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा काठमाडाैं महानगरपालिका– ११ बस्ने करिब २१ वर्षीय सुनीलबहादुर तामाङको साथबाट प्लास्टिकसहित २३.९५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू पाँचजनाविरुद्ध अदालतबाट पाँच दिनको म्याद लिएर जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।
लहान नगरपालिका– ३ अस्पताल चोकमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा डिजिटल तराजु र ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरी अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धनगढीमाई– ९ का करिब २१ वर्षीय पवन साहको साथबाट सानो डिजिटल तराजु, धनगढीमाई– ८ का करिब २१ वर्षीय लालबाबु रायको साथबाट प्लास्टिकसहित ३३ ग्राम र सोही ठाउँका करिब २३ वर्षीय अंकेश महतोको साथबाट ०.१५ मिलिग्राम ब्राउनसुगरजस्तो खैरो पदार्थ बरामद भएपछि पक्राउ गरी अदालतको अनुमतिमा लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।