मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल र भारतका सर्वाेच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२३:oo

नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

आज दुई अदालतबिच दिल्लीमा आयोजित समारोहमा दुई देशबिचको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्नका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको हाे । 

उक्त समझदारीपत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र भारतका प्रधानन्यायाधीश सञ्जीव खन्नाको उपस्थितिमा हस्ताक्षर भएको छ । प्रधानन्यायाधीश राउत भारतको भ्रमणमा छन् । 

दुई देश र जनताबिच रहेको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धबाट प्रेरित हुँदै यस समझदारीपत्रले दुई देशका न्यायपालिकाहरूबिचको सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्ने लक्ष्य राखेको जनाइएको छ ।

 समझदारीपत्रले कानुन र न्यायको क्षेत्रमा भएका पछिल्ला विकासबारे पारस्परिक जानकारीको आदान–प्रदानलाई प्रोत्साहन गर्नुका साथै भ्रमणको आदान–प्रदान, अल्पकालीन तथा दीर्घकालीन तालिम र शैक्षिक कार्यक्रमहरूजस्ता कार्यक्रमहरूमार्फत न्यायपालिकाका विभिन्न तहका न्यायाधीशहरू र अधिकारीहरूबिच अन्तर्क्रियालाई पनि प्रवर्द्धन गर्ने लक्ष्य राखेकाे छ।

अधुरा कार्यहरू पूरा गर्न, अदालती प्रक्रियाहरूलाई तीव्र पार्न र सरोकारवालाहरूलाई राम्रो सेवा प्रदान गर्न प्रविधिको प्रयोगको महत्त्वलाई आत्मसात् गर्दै यस समझदारीपत्रले सम्बन्धित अदालत र अन्य संस्थाहरूमा प्रयोग हुने प्रविधिसँग सम्बन्धित जानकारी साझा गर्ने व्यवस्था गरेको छ । समझदारीपत्रका अनुसार न्यायिक सहयोगलाई प्रवर्द्धन र थप सुदृढीकरण गर्न र यसका लागि योजना र ढाँचा तयार गर्न दुई न्यायपालिकाका अधिकारीहरू सम्मिलित एक संयुक्त कार्यदल गठन गरिनेछ ।

भारत सरकार र भारतको सर्वोच्च अदालतले यसअघि नै इजरायलको सर्वोच्च अदालत, सिंगापुर गणराज्यको सर्वोच्च अदालत, बंगलादेशको सर्वोच्च अदालत, भुटानको सर्वोच्च अदालत, ट्युनिसिया सरकार, जाम्बिया सरकार, मोरक्को सरकार, माल्दिभ्स सरकारलगायत अन्य देशहरू/संस्थाहरूसँग न्यायिक सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।