मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Thursday, 10 April, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८१ चैत २५ सोमबार १३:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार १३:१४:oo

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवालगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रु. एक करोडभन्दा बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण  अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए।

‘खानेपानी, विद्युत्, सिसिटिभी जडानको कार्य हुन बाँकी छ,’ उनले भने, ‘केन्द्रको चारैतिर सडक (पहुँच मार्ग) निर्माण भइरहेको छ भने घेराबार राख्ने कार्य हुन बाँकी रहेको छ ।’ केन्द्रको भौतिक पूर्वाधार निर्माणको पूरा हुनै लागे पनि अन्य कार्यका लागि दातृ निकायको खोजी गरिरहेको उनले उल्लेख गरे । ‘बाघ-चितुवालगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि पनि आवश्यक बजेटको जोहो मिलाउने कार्य हुन बाँकी छ,’ कार्यालय प्रमुख जोशीले भने, ‘त्यसको प्रबन्धका लागि कार्य अगाडि बढाउनु छ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले केन्द्र निर्माणका लागि निकुञ्ज कार्यालयले प्राविधिक सहयोग र निर्माणका लागि जग्गा व्यवस्थापनसँगै अनुमति दिने कार्य गरेको बताए । ‘पूर्वाधार निर्माणको सम्पूर्ण कार्य एनटिएनसीले गरेको छ,’ उनले भने, ‘एक–दुई महिनाभित्रै केन्द्र पूर्णरूपमा निर्माण भइसक्छ ।’

मध्यवर्ती क्षेत्रबाट उद्धार गरी ल्याउने बाघ–चितुवालगायतका अन्य जनावरको केन्द्रमा राखेर स्वास्थ्य परीक्षणको कार्यसँगै उपचार गरेपछि सुरक्षित स्थानमा छाडिने उनले बताए । नरभक्षी भएका बाघ–चितुवालाई उद्धार गरेर ल्याएपछि आनीबानीमा सुधार नहुँदासम्म केन्द्रमा राखिने र त्यसपछि सुरक्षित स्थानमा छाडिने उनको भनाइ छ । उनका अनुसार अलपत्र अवस्थामा फेला परेका, अशक्त, घाइते र समस्याग्रस्त जीवजन्तुको उद्धार गरी केन्द्रमा राखेर पालनपोषणको कार्य गरी वासस्थानमा पुनर्स्थापन गर्न सघाउ पुग्ने उनले बताए ।

आधुनिक शैलीमा जीवजन्तुलाई  राख्नका लागि निर्माण भइरहेको केन्द्र सुदूरपश्चिम क्षेत्रमा पहिलो रहेको छ भने चितुवालगायतका जनावरलाई उद्धार गरी राख्नका लागि डडेल्धुरामा एनटिएनसीले खोर यसअघि नै निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।

निकुञ्जमा बाघ–चितुवालगायतका जनावरको संख्यामा वृद्धि भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाको खेतबारीमा देखिन थालेका छन् । गत साता बेलौरी नगरपालिकामा र साउन महिनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट निकुञ्ज कार्यालयले दुईवटा बाघको सकुशल उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ ।

प्रत्येक महिना निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा चितुवा देखिने गरेको छ । निकुञ्ज र कोषको टोलीले उद्धार गरी सुरक्षित स्थानमा छाडने कार्य गर्दै आएका छन् । उद्धार केन्द्र नहुँदा निकुञ्जलाई उद्धार गरिएका जनावर राख्नका लागि समस्या हुँदै आएको थियो । 

छुटाउनुभयो की ?