
दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटनको राजधानी सहर पोखराका होटेलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटेलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार गत वर्ष यही समयमा होटेलमा पाहुनाको संख्या क्षमताको झन्डै ५० प्रतिशतसम्म पुगेको थियो ।
‘पदयात्रामा आउने पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटक पोखरामा नबसी सिधै गन्तव्यस्थल पुग्ने गरेकाले पनि होटेलको ‘अकुपेन्सी’ कम छ,’ उनले भने, ‘नयाँ वर्ष नजिकिएको र विद्यालय तहको परीक्षा सकिएर बिदा सुरु भएकाले आन्तरिक पर्यटकको आउजाउ अब बढ्ने देखिएको छ ।’
पोखरा घुम्ने र यहाँका होटेलमा रात बिताउने विदेशी पर्यटकको संख्या भने अपेक्षाभन्दा कम रहेको अध्यक्ष सुवेदीले बताए । होटेल व्यवसायमा ठुलो लगानी गरेका पर्यटन व्यवसायीहरू मुख्य सिजनमै पर्यटकको आवागमन कम हुँदा चिन्तित छन् । पोखरामा पर्यटक भित्र्याउने लक्ष्यसहित संघले नयाँ वर्षका अवसरमा २०औँ फेवा नववर्ष महोत्सवको आयोजनासमेत गरेको छ । नयाँ वर्षका वेला होटेलको ‘अकुपेन्सी’ ९० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा लिइएको संघका अध्यक्ष सुवेदीले बताए ।
महोत्सव अवधिमा होटेलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटेलको क्षमता छ । ‘अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्,’ उनले भने, ‘यहाँ रहेका १२ सयभन्दा बढी होटेल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।’ पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये झन्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।
पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । हवाईमार्ग र सडकमार्ग प्रयोग गरेर पर्यटक पोखरा भित्रिने गरेका छन् । यहाँको प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण चक्रीय पदमार्गमा पनि पदयात्री पर्यटकको चहलपहल बढेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ ।
ट्रेकिङ एसाेसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चैत लागेसँगै पर्यटकको आउजाउ बढेको बताए । ‘ट्रेकिङ रुटहरूमा यतिवेला पर्यटकीय चहलपहल बढेको छ,’ उनले भने, ‘शरद ऋतुपछि वसन्त याममा धेरै पर्यटक पदयात्राका लागि नेपाल भित्रिन्छन् ।’
अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमैडाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए ।
गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रूपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथा व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण संकटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार ९५१ रहेका थिए । उक्त संख्या हालसम्मकै बढी रहेको जनाइएको छ । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार ५५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड– १९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार ७३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’ले जनाएको छ । रासस