मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८१ फाल्गुण १७ शनिबार १७:१४:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोनाकालको जुक्ति स्ट्रबेरी खेती : वार्षिक ३० लाख आम्दानी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १७:१४:oo

बनेपा नगरपालिका–१०, जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याई छ। पछिल्ला दुई वर्षदेखि रु. ३० लाखको हाराहारीमा आम्दानी गरिरहेका विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन्।

करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’ मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका वेला निकालेको ‘जुक्ति’ ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका हुन्। विष्ट त्यसवेलाको जुक्तिबाट व्यावसायिक स्ट्रबेरी खेतीमा रत्तीभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन्। ‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा रु. तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ,’ विष्टले भने।

जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छन्। यस्तैमध्येका एक हुन् विष्ट। उनी आफ्नै दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा छन्। तर, ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सिप सिकेर व्यवसाय थालेका भने होइनन्, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा थालेका हुन्। दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबेरी खेती उदाहरणीय बन्न सक्ने देखिएको छ।

अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै छन्। उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै, व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ। यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरु भइसकेको छ। उनले स्ट्रबेरी खेतीका लागि करिब रु. ३० लाख लगानी गरेका छन्।

गत वर्ष सबै खर्च कटाएर रु. ३० लाख बचत गरेका थिए। उनी यस वर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा छन्। विष्टले हाल स्ट्रेबरी मात्र लगाएका छैनन्, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरापालनसमेत गरिरहेका छन्। हाल उनको व्यवसायमा दैनिक पाँचजनाले रोजगारी पनि पाएका छन्। व्यवसायका लागि उनले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिएको बताए। ‘व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन,’ उनले गुनासो गरे।

विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै छन्। उनी भन्छन्, ‘अब केही समयमै स्ट्रबेरी खेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेकोछु।’ साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरुवासमेत उत्पादन गरेर बेच्ने गरिरहेको सुनाए। उनको अनुभवमा स्ट्रबेरी आफैँमा एक स्वादिलो र पोसिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो।

विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएका छन्, जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ। उनले स्ट्रबेरी खेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरुवा रोपेका हुन्। उनी भन्छन्, ‘स्ट्रबेरीको बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन थालेको छु।’ उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरी खेतीका लागि अध्ययन भइरहेको बताए। उनले गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेका थिए।

दुई महिनामा हुर्केको स्ट्रबेरीले उत्पादन दिन थाल्छ। उनले स्ट्रबेरी खेती थालेको थाहा पाउने बनेपा तथा आसपासका उनको खेतमै गएर खेती हेर्ने र किनेर लैजाने गर्छन्। विष्ट भन्छन्, ‘आजकाल दैनिक मेरो स्ट्रबेरी खेती हेर्न आउनेक्रम बढ्दै छ, उहाँहरू यहीबाटै किनेर पनि लैजानुहुन्छ, उहाँहरूलाई म बजारको भन्दा सस्तो गरी दिने गर्छु ।’ विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौं, पोखरा तथा चितवनसम्म जाने गरेको छ।

विष्ट भन्छन्, ‘देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्‍याउने लक्ष्य लिएको छु, स्ट्रबेरी बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ, त्यसमा पनि विशेष ध्यान दिइरहेको छु।’ प्रतिबिरुवा रु. २५ देखि रु. ३० सम्ममा बिक्री हुने गरेको विष्ट बताउँछन्। विष्टले अमर भू–मण्डलीय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी नयाँ-नयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको बताउँछन्। ‘सुरुवातका वेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुपर्‍यो, अहिले त्यस्तो छैन,’ विष्टले भने। उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ व्यहोर्नुपरेको विष्टले सुनाए।